Monday, May 22, 2017

के नेपालमा साच्चै रोजगारीको अवसर छैन?

निस्चल वाग्ले

हाम्रो समाजमा रोजगार भन्ने बितिकै सरकारी जागिर वा टाई सुट लगाएर घुम्ने कुर्सीमा बस्ने सोचिन्छ। रोजगारलाई येही आधारमा नै आज सम्म ब्याख्या गरिएको छ र बेला बखत भन्ने गरिन्छ, राज्यले रोजगारको अवसर दिन सकेन त्यसैले विदेशिनु बाध्य छन् हाम्रा नेपाली युवा जनशक्ति।

के नेपालमा साच्चै नै रोजगारीको अवसर छैन? वा हामीले परिकल्पना गरेको जस्तो रोजगार राज्यले हामी सम्पूर्ण नेपालीलाई दिन सक्ने अवस्था छैन?

नेपालमा रोजगारको अवसरको कमी हैन, कमी छ त केवल युवा जनशक्तिको र श्रमको कदरको। आज राज्यले रोजगार दिन नसकेर हाम्रा नेपाली दाजु भाई दिदी बहिनीहरु बैदेशिक रोजगारको लागि आफ्नो घर परिवार छोडेर देश बाट टाढा जान बाध्य हैन, हुन् त केवल हामी र हाम्रो समाजले श्रमको कदर गर्ने र सबैलाई मानवीय दृष्टिकोणले हेर्न सक्ने अबस्था नभएर।

एउटा भनाई निकै चर्चित थियो जुन हामी अधिकांसले पक्कै पनि सुनेका थियौ होला – “अरु कुनै जागिर नपाए व्यक्ति अन्तिममा शिक्षक बन्छ!” शिक्षा त्यस्तो हतियार हो जसले समाजमा क्रान्ति ल्याउन सक्छ, ज्ञानको माध्यमबाट भएको क्रान्ति कुनै बन्दुक र हतियार बाट भएको रक्तक्रान्ति भन्दा धेरै नै फरक र माथिल्लो हुन्छ, त्यही क्रान्तिका ज्वाला बोकेका जसले समाजको रुपान्तरणको लागि बालबालिकामा शिक्षाको चेतना भर्छन, त्यहीँ भोलिका देशका कर्णधारहरुलाई मार्ग निर्देशन गर्ने शिक्षकको पेसालाई त हाम्रो समाज सम्मान साथ नहेरेर अरु कतै जागिर पाउन नसके पछि बनेको मास्टर हो भनि होच्याएर हेरिन्छ अरु पेसालाई हेर्ने हाम्रो नजर झन कस्तो हुन सक्छ?

एक बैंकमा कार्यरत कर्मचारीले सेवाग्राहीसँग आर्थिक लेनदेनको व्यवहार गर्छ, एक सहचालकले पनि गर्ने त त्यहीँ नै हो, आफ्ना सेवाग्राहीसँग आर्थिक लेनदेनको व्यवहार तर पनि यी दुईमा हामीले हेर्ने नजरिया धेरै नै फरक छ। एउटा सम्मानित बैंकको कर्मचारी र एउटा ‘खलासी’ हामीले बोल्ने, गर्ने व्यवहार सबै फरक छ, हामी यी दुई उस्तै रहेका श्रम प्रति किन सम्मान गर्न सक्दैनौ त?

नयाँ नेपाल तब बन्छ जब देशमा नि:शुल्क र अनिवार्य शिक्षाको अवधारण बन्छ। हरेक नागरिकले कम्तिमा एउटा तह सम्म पढ्नु पर्ने र हरेक श्रम र श्रमिकको सम्मान गर्ने साथै सँगै आफ्नो आचरण र चरित्र सुधार्दै लाने क्रमको बिकास हुन्छ। जब शिक्षकको, निजामती कर्मचारीको साधारण दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्ने श्रमिकको सबैको श्रमको कदर गरिन्छ तब मात्र देशमा रोजगारको अवसरको कमि नभएर युवा जनशक्तिको कमी भएको हामी देख्छौ।

हाम्रो देश नेपाल, कृषि प्रधान देश हो। राष्ट्रिय पेसा कृषि, तर पनि राष्ट्रिय पेसा कृषिको सम्मान र इज्जत छैन। सानै देखि बालबालिकालाई भन्ने गरिन्छ राम्ररी पढेर राम्रो अंक सहित पास गर्ने नत्र गाउँमा गएर हलो जोत्लास! बाल मनोविज्ञानमा नै पढेन भने त मैले हलो जोत्नु पर्ने रहेछ, म कृषक बन्नु पर्ने रहेछ जस्तो बनाइन्छ र यो पेसा सोच्न बाट पनि धेरै टाढा पुर्याइन्छ।

हाम्रो देशको राष्ट्रिय पेसा जसले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाभ पार्न सक्छ त्यसलाई नै हामी सानै देखि यस्तो ब्याख्या गर्छौ। कसैले कृषि पेसा अंगाल्न लागे अरु केही गर्न नसक्ने बुद्धिहिन प्राणी रहेछ हलो जोत्ने सोचेको छ भनि हामी त्यसलाई होच्याउन पछि पर्दैनौ। यस्तै कार्यले गर्दा नै गाउँमा युवाहरु कृषि पेसा अंगाल्न भन्दा जोखिम मोलेर लाखौ खर्च गरि बिदेशिनु राम्रो सोच्छन। कृषिमा नै लगानी गरेको भए वैज्ञानिक प्रविधिको कृषिबाट धेरै नै आर्थिक फाइदा र आफ्नो गाउँ र समाज र देशमा नै एउटा प्रेरणाको पात्र बन्न सकिने अवस्था हुन्थ्यो।

अहिले अधिकांस गाउँमा जग्गा हुनेले प्लटिंगको नाममा जग्गा बाझोँ छोडी बसे, नहुने दुई छाक टार्न भएको खेतबारी बेची कडा श्रम गर्न खाडी र अरब पुगेका छन र थोरै थोरै पैसा बचाई त्यही टुक्रा किन्दै छन। घरको एक सदस्य बिदेश हुने बितिकै छोराछोरी पढाउने बाहना लगायत यावत चिजमा परिवार गाउँ र भएको थोरै खेत बारी पनि बाझोँ छोडी सहर पस्ने लहर पनि चलेको छ जसले अहिले समाजमा धेरै नै बिकृति पनि निम्त्याएको छ।

पैसा जति नै भए पनि पैसा खान मिल्दैन, खाने त अन्न नै हो तर देशमा उत्पादन छैन। रेमिट्यान्स भित्रेको छ, गाउँ खाली र बाझोँ बनेको छ र महंगी बढेको छ। दाल, चामल र तरकारीको मुल्य आकासिएको छ। रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको हैन खुल्ला रुपमा नै देशलाई परनिर्भर र महंगी ज्यादै नै बढाएको छ।

वैदेशिक रोजगारी, रेमिट्यान्स, छोराछोरी पढाउन सहर र सौखिन जीवनशैली र बाझो खेतबारीले नै अहिले देशको स्वाभिमान र आत्मनिर्भरता निर्लज्ज बनि मजाक बनेको छ। समाजले के सोच्छ छाडी आफुसँग भएको स्रोत प्रयोग गरि सबैले केही न केही गरौ, सबैले आफ्नो स्रोत र साधनको भरपुर उपयोग गरौ, देश विकासको लागि येसले पनि टेवा पुर्याउने छ, पर्यटन र रेमिटान्सले मात्र हैन कृषिले पनि देश चल्छ।

आफ्नो गाउँको भिर पाखामा सानो गोरेटो बाटो खन्न भन्दा अब पनि बिदेशमा तातो हावामा चिहान खन्न मन पराइयो भने देश सदाको निम्ति परनिर्भर भएर जान्छ, आफ्नो सिप र शक्ति विदेशको लागि खर्च गरि देशमा रेमिट्यान्स पठाउनु भनेको आफ्नो इज्जतको लिलाम गरेर सुनको गहना लगाएर हिड्नु जस्तै हो जसको धेरै महत्व हुँदैन।

इराकमा १२ जाना नेपालीको हत्या भयो, त्यो हत्या भुलाउन नपाउँदै अफगानमा त्यस्तै खाले घटना दोहरियो, इराकमा १२ नेपालीको हत्या पछि काठमाडौँका घर र म्यानपावर जलाउने र फोर्नेहरु नै कति वैधानिक, अवैधानिक रुपमा श्रमका लागि बिदेशिएका होलान? झिंगा खुदोमा डुबेर मरेको देख्दा देख्दै पनि अरु झिंगा त्यहाँ गएको जस्तै नगरौ।

बैदेशिक रोजगारको लागि जाँदै नजाउँ पनि भन्न सकिदैन। जाउँ तर जाने बेलामा श्रम स्वीकृति प्राप्त देशहरुमा वैधानिक तवरबाट नै जाउँ र अलिकति धेरै पैसा कमाउने दाउमा द्वन्दरत र सरकारले स्वीकृति नदिएको राष्ट्रहरुमा अवैधानिक तरिकाबाट नजाऔ। नत्र इराक र अफगानका जस्ता घटना फेरी पनि सुन्न बाध्य हुन्छौ र परिवारको लागि सुन्दर सपना बोकेर उडेकाहरु बाकसमा स्वदेश फर्किन बाध्य हुन्छन।

वैदेशिक रोजगारीको नाममा मानव तस्कर र बेचबिखन नहोस र राज्यले पनि वैदेशिक रोजगारमा गएका युवालाई अब स्वदेश फर्काउन नसके पनि देशमा भएका युवालाई अब विदेशिन रोक्न राम्रो निति ल्याउन जरुरत छ। देशमा नै सक्दो परिश्रम गरौ, ऐच्छिक वेरोजगरिता र विदेशिन कम गरौ। पैसा थोरै होला तर बिना कुनै डर परिवारसँग बिताउन पर्याप्त समय हुनेछ। परनिर्भरता अब अन्त्य गरौ, देश हामी आफै बनाऔ।
Source :- nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment