Tuesday, April 11, 2017

काङ्ग्रेसका प्रभावशाली नेताको राजनीति सकियो, भ्रष्टाचार गर्ने अब साधारण सदस्य समेत नरहने

कांग्रेसको उपसभापति दाबी गरिरहेका खुमबहादुर खड्का पार्टीको साधारण सदस्यसमेत नरहने कानुन संसद्बाट पारित, राष्ट्रपतिबाट प्रमाणित,
-भ्रष्टाचार र फौजदारी अभियोग प्रमाणित भएका नेता जीवनभर निर्वाचनमा उम्मेदवारसमेत बन्न नपाउने भएपछि राजनीतिक भविष्य समाप्त
भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले अबदेखि दलको साधारण सदस्यसमेत बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले मस्यौदा गरेको राजनीतिक दलसम्बन्धी विधेयक गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट पारित भएर संसद्मा दर्ता भएको थियो । दफावार छलफलका लागि संसद्ले गत मंसिरमा राज्य व्यवस्था समितिमा विधेयक पठाएको थियो ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले चार महिना छलफल गरेर तयार पारेको विधेयक ९ चैतमा संसद्बाट पारित भएको थियो । मस्यौदामा ६ वर्षका लागि मात्र दलको सदस्यता नरहने व्यवस्था भए पनि संसद्बाट पारित हुँदा आजीवन प्रतिबन्ध लगाउने व्यवस्था पारित भएको छ । सो विधेयक सोमबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपालको कानुन बनेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
दफावार छलफलमै सदस्यताबारे बहस दलसम्बन्धी विधेयकमा दफावार छलफल गर्दा सदस्यतासम्बन्धी बुँदामा व्यापक बहस गरेर निर्णय लिइएको राज्य व्यवस्था समितिको उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने, ‘राजनीतिलाई शुद्धीकरण गर्न र राजनीतिक दलमा लागेका नेता–कार्यकर्ता समाजमा सम्मानित भएर बाँच्ने स्थिति बनाउन यस्तो कानुन आवश्यक छ भनेर व्यापक छलफल भयो । सर्वसम्मत निर्णय गरेर यस्तो व्यवस्था गरेका हौँ ।’
कांग्रेसका केही सांसदले अदालतले दोषी प्रमाणित गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ताको नामै लिएर उनीहरूको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न उठाएका थिए । उनीहरूले अदालतले दोषी ठहर गरेका व्यक्तिलाई निश्चित अवधिका लागि मात्र सदस्य बन्नबाट रोक्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । उपसमितिले कानुनी पृष्ठभूमि भएका प्रमुख दलका सांसदलाई पनि बोलाएर यस विषयमा परामर्श लिएको थियो । त्यस क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले निश्चित अवधि तोकेर रोक लगाउनुपर्ने मत राखेको स्रोत बताउँछ । तर त्यस्तो सजाय पाएकालाई आजीवन प्रतिबन्ध लगाउने व्यवस्था पारित भएको छ ।
यस्तो छ नयाँ ऐनमा व्यवस्था
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १४
उपदफा २ (१) : दलको सदस्यता वितरण गर्दा देहायको योग्यता पुगेको नेपाली नागरिकलाई वितरण गर्नुपर्नेछ :
(क) अठार वर्र्ष उमेर पूरा भएको,
(ख) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएकोे
स्थानीय तह निर्वाचन ऐन २०७३ दफा १३
दफा १३ः उम्मेदवारको अयोग्यता : यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ :
(च) भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment