Tuesday, April 18, 2017

यो हो काठमाडौंमा यौनसम्पर्क गर्ने नयाँ स्थान

पछिल्ला समय पवित्र पशुपतिनाथ मन्दिर क्षेत्र एकान्तको खोजीमा तड्पिएका प्रेम जोडीको क्रिडास्थल बन्दै गएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत लिच्छवीकालदेखिको ऐतिहासिक महत्व बोकेको पशुपति गौशालास्थित भण्डारखाल प्रेम जोडीमात्र होइन ट्यापे, गँजडी र अश्लील क्रियाकलापमा रमाउनेहरुको केन्द्र बनेको छ ।

गत वर्षको भूकम्पले पर्खाल भत्किएपछि यस्ता समूहलाई पशुपतिनाथ क्षेत्रमा रमाउन सजिलो भएको छ । भूकम्पअघि पनि संरक्षणको अभावमा बेवारिसे बनेको १३४ रोपनी क्षेत्रमा फैलिएको भण्डारखाल भूकम्पपछि वरिपरिबाट घेरिएको पर्खाल ठाउँठाउँमा भत्किँदा गाँजालगायत लागुपदार्थ सेवन गर्ने युवा प्रेम जोडीका लागि वरदानसावित भएको हो ।

शनिबार र सरकारी बिदाका दिन विद्यार्थी फुटबल, क्रिकेट खेल्न जम्मा हुन्छन् भने भण्डारखाल क्षेत्रमा साँझ परेपछि पर्खाल भत्किएका स्थानबाट जोडी छिर्ने गरेकाले अघोषित ‘रेडलाइट एरिया’ बन्न पुगेको स्थानीय राम डङ्गोल दुःखेसो पोख्छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती उपत्यकाका वन क्षेत्र सबै अनैतिक क्रियाकलाप गर्ने ठाउँ बनेकाले पशुपति भण्डारखाल पनि अछुतो रहन नसकेको स्वीकार गर्छन् ।

‘श्री ५ गीर्वाणयुद्ध विक्रम शाहले कालोपुल पूर्व, गौशालाचोकदेखि उत्तर, बाग्मतीको गुह्येश्वरी किनार, गौरीघाट र चाबहिल गणेशस्थानबीचको २६४ हेक्टर जमिनलाई पशुपति क्षेत्रको लालमोहर लगाइदिएको र १३४ रोपनीको जमिनलाई भण्डारखाल बनाइएको हो’ उनले भने ।

दुई वर्षअघि पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको आयोजनामा भण्डारखाल क्षेत्रको उत्खनन गर्दासमेत यो पुरातात्विक एवम् ऐतिहासिकस्थल अव्यवस्थित देखिएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । ‘भण्डारखाल क्षेत्र पशुपति क्षेत्र विकास कोषको अधीनमा रहेकाले त्यहाँको वातावरण सुधार गर्ने जिम्मेवारी पनि कोषकै हो’, उनले भने ।

कोष मातहतमा रहेको १३४ रोपनी हरियो जङ्गलले ढाकेको यो क्षेत्र संरक्षणको अभावमा दिनानुदिन उजाडिँदै गएको छ ।

कोषले ऐतिहासिक धरोहरको यस क्षेत्रलाई रेखदेख गर्न एक जना सुरक्षाकर्मीसमेत नखटाउँदा भण्डारखाल क्षेत्र जसले जे गरे पनि हुने अवस्थामा पुगेको पशुपतिका स्थानीयवासी महेश्वरलाल श्रेष्ठले गुनासो गरे ।

लिच्छवीकालमा दरबार र ठूला मन्दिर आसपासमा भण्डारखालको व्यवस्था गर्ने परम्परा रहेकाले पशुपतिको नजिक यो भण्डारखालको स्थापना गरिएको संस्कृतिविद् एवम् कोषका सदस्य सचिव डा गोविन्द टण्डन बताउछन् ।

‘कोषको अधीनमा रहेको ऐतिहासिक एवम् पुरातात्विक भण्डारखाल अहिले भूकम्पले पर्खाल भत्किएको भन्दा पनि वरिपरिका व्यक्तिको अतिक्रमणका कारण अव्यवस्थित छ, यहाँ उद्यान र फूल बगैँचा बनाएर व्यवस्थित गर्ने योजना अगाडि बढेको छ, असार मसान्तसम्म रु दुई करोड ५० लाखको लागतमा उद्यान बनाउने काम सुरु भएको छ’, उनले भने ।

उद्यान बनाउने कामका लागि आदर्श निर्माण कम्पनी छानिएको छ । पशुपति भण्डारखाललाई रणबहादुर शाह राजा भएका बेला अझ विस्तार गरिएको अभिलेख छ ।

काठमाडौँमा बस्ती विस्तारसँगै यस स्थललाई जङ्गल, संरक्षण क्षेत्र र पशुपतिको पूजाका लागि आवश्यक फूल उत्पादन गर्ने बगैँचा एवम् उद्यान केन्द्र बनाउने योजना धेरै पहिले बने पनि त्यो अझै सफल हुन नसकेको सदस्य सचिव टण्डन स्वीकार गर्छन् ।

लिच्छविकालीन यो ऐतिहासिकस्थलमा २०७१ असार २१ गतेदेखि साउन १४ गते र २०७२ फागुन ८ देखि २३ गतेसम्म बेलायतस्थित दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा उत्खनन कार्य भएको थियो ।

प्रारम्भिक उत्खननबाट उत्तर लिच्छविकालीन समयभन्दा अघिको पोखरी र पोखरीमा जाने सिँढीसमेत फेला परेको विभागका महानिर्देशक दाहालले जानकारी दिए ।

उत्खनन कार्यमा दुरहाम विश्वविद्यालयका उपकुलपति प्रा रोविन कनिङ्घमसहितको छ सदस्यीय टोली, पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक कोषप्रसाद आचार्यसहितको टोली र पुरातत्व विभागका रामबहादुर कुँवर, मञ्जुसिंह भण्डारी, मोहनसिंह लामा र विष्णु पाठकलगायतका अधिकारीको सहभागिता थियो ।

प्रारम्भिक उत्खननबाट लिच्छविकालभन्दा अघिको माटोका भाँडा र लिपिसमेत फेला परेको छ । पशुपतिको भण्डारखाल ऐतिहासिक एवम् पुरातात्विक चीजबीजको भण्डार नै हुनसक्ने स्थानीयवासी एवम् कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य बताउछन् ।

यस किसिमको विशेषता बोकेको भण्डारखालको यो खाली र अव्यवस्थित जग्गालाई व्यवस्थित गरी गौचरन निर्माण गर्ने प्रस्ताव कोषका पूर्व सदस्य सचिव सुशील नाहटासमक्ष राख्दा नदिएको पशुपति गौशाला धर्मशालाका अध्यक्ष प्रदीप गोयलले बताए ।

‘पशुपति जस्तो राष्ट्रदेव रहेको धार्मिक क्षेत्रमा पालिएका गाईका लागि व्यवस्थित गौचरन बनाई यस भण्डारखालको सदुपयोग गर्न खोजेका थियौँ, पुरातात्विक वस्तुको संरक्षण गर्दै गौचरन बनाउने हाम्रो योजना थियो तर हामीलाई नदिए पनि यो ऐतिहासिकस्थललाई अव्यवस्थित रुपमा बेवारिसे भने छोडिनुहुन्न’, भण्डारखालसँगै जोडिएको गौशालाका अध्यक्ष गोयलले भने ।

भण्डारखालमा विमान चालक विवेक राणाले सडकमा छोडिएका बिरामी गाईगोरुलाई जम्मा पारेर उपचार गरी आश्रय दिँदै आएका छन् ।

‘कोषको एउटा सुरक्षाकर्मीसमेत यहाँ नबस्ने गरेकाले जो जतिखेर पनि यहाँ छिर्छन् र जे जस्ता क्रियाकलाप पनि गर्न सक्छन् कसैको कुनै रोकतोक छैन, कतिपटक त मैले अश्लील जोडीलाई भण्डारखाल जङ्गलमा भेटेको छु’, धेरै घटनाका प्रत्यक्षदर्शी रहँदै आएका गाईगोरु संरक्षण केन्द्रका अहेब टीकाबहादुर थापाले भने ।

भण्डारखालमा हुने विकृति रोक्न कोषले महानगरीय प्रहरी वृत्त गौशालासँग छलफल गरी निगरानी गर्न अनुरोध गरिसकेको छ । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment