Monday, April 24, 2017

शीर्ष नेताका छोराछोरी के गर्छन् ? जान्नुहोस्

‘काठमाडौं । दुनियामा हरेक परिर्वतनका पछाडी युवाहरुको भुमिका रहने गर्दछ । नेपालमा भएका पटक–पटकका राजनीतिक संघर्षमा पनि युवाहरुको महत्वपुर्ण भुमिका रह्यो । नेपालमा राणाशासनदेखि पञ्चायत ढाल्नेसम्म होस या पञ्चायतदेखि राजतन्त्र ढाल्नेसम्म युवाहरुकै भुमिका अग्रस्थानमा पर्छ ।

हरेक संघर्ष र परिवर्तनमा युवाहरुको भुमिका हुँदा–हुँदै पनि नेपाली राजनीतिलाई नेतृत्व तहबाट हाक्ने अवसर भने नेपाली युवाले प्राय पाएनन् । युवाहरु मात्र सडक आन्दोलन तताउने र सत्तामा पुग्ने सिढी बने वा बनाइए । युवाकै बलमा राजनीतिक दलका नेताहरु राष्ट्रपतिदेखि प्रधानमन्त्री,सांसद मन्त्रीसम्म भए ।
यसरी अरुका छोराछोरीलाई सधैं राजनीतिमा आउन र संघर्षमा हेलिन प्रोत्साहित गरिरहने मुलुकका प्रभावशाली नेताहरुकै छोराछोरी चाहिँ के गरिरहेका छन् त रु न्युजसेवाले गरेको एक अध्ययन ।

युद्धदेखि हालसम्म प्रचण्डसंगै छन प्रकाश दाहाल
तीन छोरी र एक छोराका पिता हुन् प्रधानमन्त्री एवंम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । जनयुद्धकालमा पुरै विश्वले कान ठाडो पारेर नाम सुन्ने प्रचण्डका एकमात्र छोरा प्रकाश त्यसताका अध्यक्ष प्रचण्डकै ‘स्टाफ’ थिए । हाल पनि उनी प्रचण्डको सचिवालयमा छन् । युद्धकालमा युद्धमै रहेका प्रकाशले अध्ययन त्यती गर्न पाएनन् । सामाजिक सञ्जालमा बेलाबेला तिखो टिप्पणी गरिरहने प्रकाश मिडियामा बेलाबेला छाइरहन्छन् । प्रकाश पनि जनयुद्धकालमा निकै दुःख भोग्ने नेताका छोराछोरीमध्येमै पर्दछन् ।

राजनीतिमै सक्रिय जेठी प्रचण्डपुत्री ज्ञानुको निधन भइसकेको छ । माहिली रेणु जनयुद्धकालदेखि नै सक्रिय राजनीतिमा छिन् । पहिलो संविधानसभामा सभासद् रहेकी रेणु २०७०मा काठमाडौं– १ बाट पराजित भइन् । कान्छी प्रचण्डपुत्री गंगा राजनीतिमै भए पनि उनी त्यति साह्रो चर्चामा छैनन् ।

राजनीतिमा छैनन् राष्ट्रपति रामवरणका सन्तान
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका दुई छोरा र एक छोरी छन् । यादवका जेठा छोरा चन्द्रमोहन यादव पनि चिकित्सकै हुन् । चन्ढीगढ, भारतबाट एमडी अध्ययन सकेका डा. चन्द्रमोहन दोस्रो संविधानसभामा सभासद भए ।
जनकपुरबाट प्रवेशिका उत्तीर्ण गरेका चन्द्रमोहन केही समय वीर अस्पतालमा सञ्चालित चिकित्सा शिक्षामा केही समय प्रोफेसर बनेका उनी पहिलो संविधानसभाको उपनिर्वाचनमा धनुषा– ५ बाट पराजित भएका थिए ।

राष्ट्रपति यादवका कान्छा छोरा चन्द्रशेखरले पनि जनकपुरबाटै विद्यालय शिक्षा पूरा गरेका हुन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’ मा स्नाकोत्तर यादव अहिले अमेरिका बस्दै आएका छन् । राष्ट्रपति यादवकी एक मात्र छोरी अनिताले बेलायतबाट स्नाकोत्तर गरेकी हुन् ।

बेलायतमा पढ्छन् देउवापुत्र
समकालीन राजनीतिमा सबैभन्दा बढीपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययनरत छन् । नेपालस्थित ब्रिटिस स्कुलबाट ‘ए लेबल’ पूरा गरेका देउवापुत्र बेलायतस्थित युनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् ।

राजनीतिमै चासो नै छैन रामचन्द्र पौडेलका छोराछोरीको
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चार छोरी र एक छोराका पिता हुन् । जेठी शर्मिला र माइली सन्ध्या घर–गृहस्थीमा जमिसकेका छन् भने साहिँली अनुजा र कान्छी अवज्ञा अध्ययनको सिलसिलामा अमेरिका छन् ।
पौडेलका एक मात्र छोरा चिन्तन भारतीय दूतावासको छात्रवृत्तिमा बेङ्लोरमा कम्प्युटर इन्जिनियरिङ सकेर राजधानीमै जागिर खाइरहेका छन् । पौडेलपुत्र चिन्तन राजधानीमा आफ्नै निजी इलोक्ट्रोनिक कम्पनीका मालिक समेत हुन् ।

अध्ययनसंगै राजनीतिमा सक्रिया बाबुराम पुत्री मानुषी
पुर्व प्रधानमन्त्री एवंम नयाँ शक्ति नेपालका संयोजक नेता डा। बाबुराम भट्टराई तथा चर्चित नेतृ हिसिला यमीकी एक मात्र सन्तान हुन छोरी मानुषी यमी भट्टराई । उनले पछिल्लो वर्ष विवाह समेत गरिसकेकी छिन ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर मानुषी भारतीय दूतावासको छात्रवृत्तिमा जवाहरलाल नेहरु विश्वविद्यालयमा एमफिल अध्ययनत छिन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन जितेकी मानुषी केही अघिसम्म एमाओवादीसम्बद्ध अखिल ९क्रान्तिकारी० की केन्द्रीय सचिवालय सदस्य थिइन् । पिता भट्टराईले पार्टी परित्याग गरेपछि उनले पनि माओवादी छाडेकी थिइन ।

सिटौलाका सन्तान नेपाल र अमेरिकामा
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नइमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद उतै छन् । जेठी छोरी चपदीप्ति नेपालमै अध्ययन पूरा गरी प्राध्यापनरत छिन् भने कान्छी ऋतदीप्ति अमेरिकामा विद्यावारिधिरत गरिरहेकी छिन् ।

महराको पुरै परिवार राजनीतिमा
दुर्ई छोरा र दुई छोरीका पिता हुन् अर्थमन्त्री कृष्णबहादुर महरा । महराका सबै सन्तान युद्धकालदेखि नै माओवादी राजनीतिमा सक्रिय छन् । तत्कालीन जनमुक्ति सेनाका बटालियन कमान्डर हुन् महराका जेठा छोरा निर्मल महरा ‘एटम’ र कान्छा रेशम महरा ‘राहुल’ । सेना समायोजनताका स्वेच्छिक अवकाश लिई दुवै पार्टी राजनीतिमा आए ।
एटम दाङमा रही पार्टीको जिम्मेवारी निभाइरहेका छन् भने राहुल बुबाको सचिवालमा सक्रिय छन् । जेठी छोरी उन्नति माओवादीको केन्द्रिय समितिमा छन भने कान्छी प्रगति पार्टीसम्बद्ध सांस्कृतिक मोर्चा ‘सामना परिवार’ मा जनकलाकार छिन् ।

उपपराष्ट्रपतिका पुत्र पनि राजनीतिमै सक्रिय
उपपराष्ट्रपति एवम् पूर्वजनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ को पनि पूरै परिवार राजनीतिमा सक्रिय छ । दुई छोराका पिता पासाङकी श्रीमती हस्तमाली र जेठा छोरा जितेन्द्र काठमाडौंको ४ नं क्षेत्रमा सक्रिय छन् । कान्छा छोरा दिपेश विद्यार्थी राजनीतिमा सक्रिय छन् । सम्पूर्ण पुन परिवार जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमै क्रियाशील छ ।

माधव नेपालका छोरा डाक्टर–इन्जिनियर
पुर्व प्रधानमन्त्री एवंम एमालेका नेता माधवकुमार नेपाल पहिलो संविधानसभा निर्वाचनयता गौण भूमिकामा छन् । पूर्वप्रधानमन्त्री नेपालका एक छोरा र एक छोरी छन् ।
छोरा सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरिसकेका छन् । नेपालस्थित एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत सौरभ कोटेश्वरस्थित नेपालनिवासमा बा–आमासँगै बस्छन् । छोरी सुमन चाहिँ भरतपुरस्थित मेडिकल कलेजमा एमडी अध्ययनरत छिन् ।

के गर्छन झलनाथ र वामदेवका छोरा ?
एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालका एक मात्र सन्तान छोरा निर्भिक विज्ञान विषयमा अमेरिकाबाट स्नातकोत्तर हुन् । अमेरिकाबाट फर्केपछि उनी एमाले भ्रातृसंगठन युवासंघमा सक्रिय रहेका छन् ।
केही समयअघि युवा संघमा खनालका छोरा निर्भिक र पार्टी उपाध्यक्ष वामदेव गौतमका छोरा इन्जिनियर हरिश गौतमलाई विधानविपरीत मनोनयन गरेको भन्दै चर्को विवाद समेत भएको थियो । नेताका छोराछोरी भएकै कारण संगठनको तलका कमिटीमा समावेश नभई एकाएक केन्द्रीय नेता बन्न पुगेको असन्तुष्ट पक्षको आरोप थियो ।

गौतमले चिनिया छात्रवृत्तिमा उतै अध्ययन गरेका हुन् । सहिदका छोराछोरीको कोटामा जीवित तथा बहालवाला उपाध्यक्षका छोरा छात्रवृत्तिमा अध्ययन गर्न चीन पुगेको भन्दै उनी आलोचित बन्न पुगेका थिए । बुवा गृहमन्त्री भएपछि ठेक्कापट्टा हरिशको सक्रियता बढेको छ । गौतमका दुई छोरी भने घर–गृहस्थीमै छन् ।

गच्छदारका तीन सन्तान विदेशमै
मधेसका प्रभावशाली नेता विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्स इन्जिनियरिङ अध्ययनरत छन् भने कान्छा छोरा सुवासले भने त्रिविबाट राजनीतिशास्त्रमा स्नाकोत्तर सके । छोरी रिना दिल्लीबाट स्नातक सकेर घर–गृहस्थीमै छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment