Friday, April 28, 2017

म्यादी प्रहरीको म्याद थपिने, सेवा सुबिधा के हुन्छ ?

बैशाख १५, काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने घोषणा गरेपछि म्यादी प्रहरीको अवधि थप हुने भएको छ ।

सरकारले दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा भर्ना भएर तालिम लिइसकेका म्यादी प्रहरीको अवधि थप्ने तयारी गरेको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दोस्रो चरणको निर्वाचन हुने जिल्लामा छनोट भएर तालिम लिएका म्यादी प्रहरीलाई पहिलो चरणको निर्वाचन हुने ठाउँमा पनि खटाइने बताए ।

उनले दुई चरणमा निर्वाचन हुने भएका कारण केही क्षेत्रका म्यादी प्रहरीको सेवा अवधि २० दिनसम्म थप हुन सक्ने बताए । अर्यालले भने, ‘मतदान, मतगणना र अन्तिम परिणाम घोषणा नभएसम्म म्यादी प्रहरी खटिनेछन् ।’

प्रहरी प्रधान कार्यालयले वैशाख पहिलो साता नै निर्वाचनका निम्ति आवश्यक खर्च सबै जिल्लामा पठाइसकेको छ । म्यादी प्रहरीका लागि आवश्यक तलबसमेत त्यसै अन्तर्गत पठाइसकिएको उनले बताए ।

प्रधान कार्यालयले म्यादी प्रहरीका निम्ति प्रहरीको जस्तै चुस्ता (ड्रेस) किन्न झन्डै ७ हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ ।

यस अगाडी बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको लागि निम्नअनुसारकाे भत्ता र बिमा सहितका सेवा सुबिधा निर्धारण गरेको थियो ।

पारित प्रस्ताव अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि प्राप्त गर्ने छन् । निर्वाचनको बेला सात दिन उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् ।

यस पटक सरकारले उनीहरुलाई तयारी पोशाक नदिने भएकाले पोशाकका लागि थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । यसबाट उनीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसार आफै पोशाकको व्यवस्था गर्नु पर्ने हुन्छ ।

सरकारले म्यादी प्रहरीको २ लाख सम्मको दुर्घटना बिमा र डेढ लाख सम्मको स्वास्थ्य बिमा समेत गर्ने भएको छ । दुर्घटना बिमा अन्तर्गत निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाखसम्म क्षतिपूर्ति पाउनेछन् ।

यस हिसाबमा एक म्यादीले ४ लाख २३ हजारसम्मको सेवा सुबिधा प्राप्त गर्न सक्छन ।

बढेको सेवा सुविधाको बारेमा

२० दिन बढेकाे समयअनुसार म्यादी प्रहरीले १८ हजार पाँच सय ४५ रुपैया पारिश्रमिक पाउनेछन् । त्यस्तै प्रतिदिन २ सय ५० रुपैयाँको दरले खाजा खर्च बापत ५ हजार रुपैया । निर्वाचनको बेलामा उनीहरुले प्रतिदिन २ सय ५० रुपै‌याका दरले रकम पाउनेछन् । कति दिनको लागि भन्ने अहिलेसम्म निर्णय भइसकेको छैन ।

अाँकडा अनुसार उनिहरुले अब ४ लाख ५० हजारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment