मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।
पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताउँछन् । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उनको भनाइ छ । उहाँका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।
दैनिक पूजामा खटिने पुजारीले मासिक तलब रु पाँच सय र पूजा खर्च रु दुई हजार २०० पाउँछन् । मन्दिरमा प्रत्येक महिना सरदर रु दुई लाख भेटी सङ्कलन हुने गरेको पुजारी वज्राचार्यले जानकारी दिए । विशेषगरी मङ्गलबार, बिहीबार र शनिबार यहाँ भक्तजनको घुइँचो लाग्ने गर्छ । आफूले चाहना गरेको कुरा देवीसँग माग्दा पूरा हुने भक्तजनको विश्वास रहिआएको छ ।
करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा दैनिक बिहान बेलुुका गरी पाँच सयदेखि छ सय दर्शनार्थी पूजाअर्चना गर्छन् । त्यसैगरी प्रत्येक वर्ष कुकुर तिहारका दिन यहाँ विशेष मेला लाग्ने गर्छ । नियमित रुपमा मैतीदेवीको पूजार्चना गर्दै आएकी अञ्जु श्रेष्ठले भनिन्, “यस मन्दिरमा पूजा गर्दा मनमा आनन्द आउँछ, मनले चाहेका इच्छा पूरा हुन्छ ।” उहाँले बाल्यकालदेखि नै सो मन्दिरमा आएर पूजा गर्नुभएको छ ।
नरिवल, लड्डु एवम् अन्य पूजा सामग्रीले पूजा गरिन्छ । मन्दिरमा बडादसैँको नवरात्रिमा पशुबलि दिइँदै आएको छ । एका बिहानै हातभरि पूजाका सामग्री लिएर पूजा गर्न लाम बसेकी ६५ वर्षीया खिमादेवी सिलवालले मैतीदेवी आफ्नो ‘मनकी माता’ भएको बताइन् । आफू जन्मेदेखि नै देवीप्रति विश्वास जागेकाले बाँचुन्जेल देवीको मन्दिर आउने प्रणसमेत उनले गरिन् ।
बस्तीको बीचमा रहेको सो मन्दिर परिसरमा गर्मीमा पीपलको छहारीमा शीतलता लिने र जाडो याममा घाम तापेर न्यानो लिने खुला स्थान भएकाले पनि थकाइ मार्न र फुर्सदको समय सदुपयोग गर्नेहरु थुप्रै भेटिन्छन् । मैतीदेवी मन्दिर मुलुकका विभिन्न क्षेत्रका आन्तरिक तथा विदेशी पर्यटकको पनि आकर्षण बन्दै गएको छ ।
मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव दर्शन महतोले गत वर्षको भुइँचालाबाट मन्दिर परिसरमा रहेका पाटी एवम् अन्य संरचना भत्किएकाले यसको पुनःनिर्माणका लागि पहल गरिरहेको जानकारी दिए । सांस्कृतिक धरोहर मैतीदेवीलाई व्यवस्थित गर्नका लागि भक्तजनले चढाएको भेटी एवम् चन्दा नै मुख्य स्रोत भएको सदस्य सचिव महतोले जनाए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment