Monday, May 29, 2017

कसरी बन्यो भरतपुरमा मतपत्र च्यात्ने योजना ? गोप्य बैठकमा को–को थिए ? (प्रत्यक्षदर्शीको बयान)

काँग्रेस सभापति जितनारायण श्रेष्ठले ‘तपाईंहरु जित्नुहुन्छ, फेरि चुनाव हुन्छ, चुपचाप बस्नुहोला । ‘माथिको आदेश’ छ भनेर सम्झाई बुझाई गरे ।’

भरतपुर महानगरपालिकाको मतगणनामा भएको लज्जास्पद घटनाले यतिबेला धेरै नेपालीलाई स्तब्ध बनाएको छ । । तर, भरतपुर नगरपालिकाको मतगणनामा मतपत्र च्यात्ने कार्य परिस्थितिजन्य देखिए पनि त्यसभित्र भयानक खेलहरु रहेको बताइन्छ । निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने शौचालय जाने, त्यहीबेला मतपत्र च्यातिने अनि काँग्रेस र माओवादीले एउटै स्वरमा पुनः निर्वाचनका लागि माग गर्ने घटनाका पछाडि थुप्रै रहस्य र योजनाहरु लुकेका देखिन्छन् ।

पहिलो विवाद

लगभग ८ बजेतिर काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मतगणनास्थलमा विवाद निकाले । काँग्रेसकै राम भनिने युवाले विवाद थपे । भरतपुर १९ को कुल मत २८६७ मध्ये १८ सय गणना भइसकेको थियो । नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली ७३३ मतले अगाडि थिए । त्यही बेला माओवादी केन्द्रका मजदुर अध्यक्ष अनक मगर ठूलो ठूलो स्वरमा विवाद गर्न थाले । रेणु दाहाल कहिल्यै मतगणनामा आउँदिन थिइन् । तर, त्यसबखत उनी पनि उपस्थित थिइन् । रेणु आफू हारिने स्पष्ट भइसकेपछि आफ्नो प्रतिनिधि माओवादी केन्द्रका नेता ईश्वर सापकोटासँग छलफल गरेर त्यहाँबाट बाहिर निस्किइन् ।

निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने शौचालय जाने, त्यहीबेला मतपत्र च्यातिने अनि काँग्रेस र माओवादीले एउटै स्वरमा पुनः निर्वाचनका लागि माग गर्ने घटनाका पछाडि थुप्रै रहस्य र योजनाहरु लुकेका देखिन्छन् ।

रेणु निस्के लगत्तै उत्तम गुरुङ र प्रकाश कंडेल एकैचोटि ईशारा गरेर शौचालयतिर गए । केही सल्लाह गर्न गए जस्तो लाग्यो । मलाई अब यिनीहरुले केही गर्छन् भन्ने लाग्यो । यही बुझेर मैले निर्वाचन अधिकृत कविराज न्यौपानेलाईं भनें । उनले तुरुन्तै मेरै अगाडि इन्स्पेक्टर जेएन यादवलाई मलाई थप फोर्स चाहियो, मतपत्र सुरक्षित गर्ने १०० ना प्रहरीको घेरा बनाउ भन्ने निर्देशन दिए । तर, इन्स्पेक्टर यादवले नसुनेको जस्तै गरे । आदेशको पालना भएन । त्यो भइसकेपछि हामीले एमालेका शीर्ष नेताहरुलाई जानकारी गरायौँ । सभासद् तथा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले एसपी दीपक थापालाई फोन गरे । तर, एसपीले पनि केही ‘रेस्पोन्स’ गरेनन् ।

त्यसपछि एमालेका नेता तथा एजेन्टहरुले मध्यक्षेत्रका डीआइजीलाई अवगत गराए । केहीबेरमै १८ सयको गणना सकियो । उनीहरु हुल बाँधेर बाहिर निस्किए । त्यसक्रममा मतगणनाको समूह ‘च’ मा बस्ने अखिल क्रान्तिकारीका सचिव प्रकाश कँडेलले मतपत्र च्यात्ने तयारी गरिरहेको थाहा भयो ।

हामीले निर्वाचन अधिकृत, एसपीलाई व्यक्तिको नामै तोकेर प्रकाश कँडेलले समूह ‘च’ मा मतपत्र च्यात्छ र मधु न्यौपानेले समूह ‘क’ मा च्यात्ने खबर गरौं । तर, सुनेको नसुनेको जस्तै गर्यो प्रहरीले । मैले तुरुन्तै न्यूज २४ का रिपोर्टर आनन्द ढुंगाना, एबीसीका विकास खनाल लगायत सबैलाई अब मतपत्र च्यात्छन्, प्रत्यक्ष प्रशारणका लागि तयार हुनुहोला भनेँ ।

गोप्य बैठक

त्यसपछि खाना खाने ‘ब्रेक’ भयो । त्यतिबेला माओवादी केन्द्रका जिल्ला नेताहरु, काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठसँगै निस्किए तर, लगभग एक घण्टासम्म फर्केनन् । हामीले बुझ्दा मेयरकी उम्मेदवार रेणु, उनका भाई प्रकाश दाहाल, रेणुका अंकल तथा माओवादी नेता नारायण दाहाल र काँग्रेसका जितनारायण श्रेष्ठबीच जिल्ला विकास समितिको कार्यालय अगाडिको गंगाराम कलेजमा गोप्य बैठक बसेर मतपत्र च्यात्ने योजना बनाएको थाहा भयो । जितनारायणले काँग्रेस वडा नम्बर १९ का काँग्रेसी नेता-कार्यकतालाई आफूहरुको योजना बारे सुनाउँदै ‘तपाईंहरु फेरि जित्नुहुन्छ, फेरि चुनाव हुन्छ, चुपचाप बस्नुहोला । ‘माथिको आदेश’ छ भनेर सम्झाई बुझाई गरे । र, अरु दिन भन्दा लगभग एक घण्टा ढिलो उनीहरु आए ।

माओवादी केन्द्रले नयाँ एजेण्टहरु प्रवेश गरायो । त्यहाँ हामीले रोक्दा माओवादी केन्द्रका इन्चार्ज ईश्वरी भट्टराई आएर गेटमा डिउटीमा बसेका सईलाई थर्काएर माओवादीका नयाँ मान्छेहरु दिलीप पौडेल, साजन अधिकारी, संघर्ष, मधु न्यौपाने र द्रोण शिवाकोटीलाई भित्र प्रवेश गराए । कुल मतगणनाको छ वटा डेक्समा पहिला भन्दा एजेन्ट परिवर्तन भएर बसे । त्यसपछि अचम्म तरिकाले माओवादी केन्द्रका मानिसहरु चुपचाप लागेर शान्त भई मतगणनामा बसेका थिए ।

अनि च्यातियो

चार चरणको मतगणना हुँदा लगभग २४ सय सकिन लागेको थियो, त्यही बेला समूह ‘क’ मा बसेका मधु न्यौपानेलाई ईश्वर सापकोटाले ईशारा गरे । मधुले बेञ्चमा जोडले ठोकेर सबैलाई ईशारा गरे । अनक मगर ठूलो स्वमा कराए, त्यसपछि दिलीप न्यौपाने, प्रकाश कंडेल, द्रोण शिवाकोटी, संघर्ष, साजन अधिकारीले मतपत्र च्यात्न थाले । प्रहरीले केही नरोकेपछि मतगणक कर्मचारी, एमालेका एजेन्टहरुले त्यहाँबाट खेदे । यत्रो घटना हुँदा सिडिओ त्यहाँ उपस्थित भएनन् । केवल दुई जनालाई मात्र प्रहरीले समात्यो ।

काँग्रेस सभापति जितनारायण श्रेष्ठ त्यत्रो घटना हुँदा कुर्सीमा सुतेको नाटक गरी तमाशा हेरे । वडाअध्यक्षसहित काँग्रेसको प्यानलले अग्रता लिँदा पनि कोहीले एक शब्द बोलेनन् । बरु मतगणनास्थलमा बबन्डर गर्ने, मनगणनालाई नै अनिश्चिततातर्फ धकेल्ने काम भएको छ । गणतन्त्र दिवस सुरु हुनैलाग्दा भरतपुरमा भएको यो बबण्डरले लोकतन्त्रका लागि लड्ने हामी जस्ता युवाहरुको भावनामा समेत नराम्रोसँग ठेस लागेको छ । आशा छ, भरतपुरको मतगणना फेरि सुरु हुनेछ । जोसुकै हुन्, दोषीमाथि कडा भन्दा कडा कारबाही गरियोस् ।

(लेखक मतगणकका रुपमा मतगणनास्थलमा थिए)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment