Saturday, May 13, 2017

महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ।

नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग गर्ने महिला अत्यन्तै न्यून छन्। राज्यसत्ता र राज्यसत्ताका नाइकेहरुले प्रयोग गरेका महिलाको संख्या धेरै छ । महिला कसैको खेत होइनन्, जसले जतिबेला जे इच्छा लाग्यो खेती गरे हुने र जति बेला इच्छा लाग्यो बाली काट्न पाइने । महिला सफेद कपडाको टालो पनि होइनन् जुन रङ्गले रङ्ग्यायो त्यसैमा रुपान्तरित हुने तर पनि महिलाहरुलाई विभिन्न थरिका बन्धन, तगारो र आरोपको साहराले डम्पिङ साइटमा बिसर्जन गर्न पुरुष प्रधान राजनीति उद्दत छ। हो, समाज रुपान्तरणको प्रक्रियामा छ । बिस्तारै विभेद हटेर समतामुलक समाज निर्माण हुनेछ भन्ने आशाको त्यान्द्रोले सामान्य विभेदहरूलाई सामान्यीकरण गर्छ तर समाज परिवर्तनको मुहान राजनीतिमै विभेद पाच्य हुन सक्दैन।

कुनै समय थियो जतिबेला महिलाहरू स्वयम् आफ्नो रुप र यौवन प्रयोग गरेर राजनीतिलार्ई कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष रुपमा प्रभावित पार्ने गर्दथे। बिश्वकी सर्बश्रेस्ठ यौवना क्लियोपेट्राले आफ्नो अद्धितिय सुन्दरता प्रयोग गरेर एउटामात्र होइन दुर्इवटा राष्ट्रको महारानी बनेर सत्ता सुखभोग गर्ने अवसर प्राप्त गरेकी थिइन । ब्रिटेन र युरोपकै पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर बिसौँ सताब्दिमा तीन पटक सम्म पदभार ग्रहण गरेर आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिए पछि राजनीतिमा महिलाहरुले रुप र यौवनमात्र होइन विबेक र क्षमता पनि दर्शाउन सक्ने वातावरण तयार भयो । जब बर्माको राजनीतिमा आङ साङ सुकिको उदय भयो तब कोमल मानिएका नारीहरुको मनोबल बर्षौको नजरबन्दले पनि गिराउन सकिँदो रहेनछ भन्ने कुरा पुष्टि भयो। यता नेपालमा जब शसस्त्र जनयुद्ध भयो शारिरिक रूपमा कमजोर भनिएका महिलाहरू फौलाद भन्दा बलिया बनेर युद्ध मैदान कब्जा गरे।यसरी इतिहाँसलाई केलाउँदा राजनीतिमा महिलाहरु हरेक भुमिकामा फिट भएर देखाएका छन्। आजको समयमा महिलाहरुले सबै किसिमका अबसर र चुनौतीहरुलाई सदुपयोग गरेर बनाएको अलग स्थानलाई प्रयोग गर्दै राजनीतिमा हस्तक्षेपकारी भुमिका खोजेका छन्। विश्वका धेरै देशमा कार्यकारी पदमा महिलाहरु छन् । महिला कार्यकारी भएका देशहरु सम्पूर्ण हिसावले उत्कृष्ट छन्, बरु पुरुषको लोकप्रियतालाई नै बिस्थापित गरेका छन्, जसको उदाहरणको रुपमा बेलायती प्रधानमन्त्री थेरेशा मे र जर्मन चान्सलर एङ्गेला मार्केललाई लिन सकिन्छ।

नेपालमा पनि कार्यकारी ठाउँमा पुगेका महिलाले पनि धेरै राम्रो काम गरेका उदाहरण छन्। राष्ट्रपति, सभामुख, प्रधानन्यायाधिस जस्ता पदहरु उत्कृष्टताका साथ महिलाहरुले चलाएका छन् । भर्खरै मात्र नीजि क्षेत्रको सबैभन्दा ठुलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पनि महिला नै पुग्नु महत्वपूर्ण उपलब्धि हो।

राज्यले संविधानमार्फत महिलाहरुलाई पहिलाको भन्दा धेरै अधिकार दिएको छ। राज्यको संरचना बदलिँदै गर्दा, संविधान कार्यान्वयन हुँदै गर्दा महिलाहरुको राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा पनि केही बद्लाब आउला यो राम्रो कुरा हो तर ५१ प्रतिशत भन्दा धेरै जनसंख्या ओगटेका महिलाले जति पाएका छन त्यो अपुग देखिन्छ।

राज्यसत्ताका नाइकेहरु समक्ष महिलालाई राजनीतिक भूमिका कम भयो भनेर भन्न जाँदा छुट्टाएको आरक्षण कोटा सम्हाल्ने योग्य महिलाहरु नभएको अवस्थामा थप भुमिकाको आवश्यकता नभएको तर्क गर्छन् । एक हिसाबले त त्यो पनि सत्य नै हो, तर किन महिलाहरू राजनीतिमा आकर्षित हुनुको सट्टा बिकर्षित भए त ? यो एउटा गम्भीर प्रश्न हो । राजनीतिमा महिलाहरुको हस्तक्षेपको लागि यसको उत्तर समयमै खोज्न जरूरी छ । नयाँ पुस्ताका युवतीहरु पछिल्लो समय राजनीतिमा उल्लेख्य रुपले उदाउने क्रम जारी छ । जसरी रोगहरुको औषधि पत्ता लाग्दै गयो त्यसरी नै नयाँ नयाँ जीवाणुहरुले रोग फैलाउने गर्छन, त्यसरी नै महिलाहरुले जतिजति चुनौतीहरुलाई पैतालामुनी राखेर अघि बढ्छन् उतिउति नयाँ चुनौतिले गर्दन समाती रहेको हुन्छ। पछिल्लो समय पुरुषप्रधान राजनीतिले उदाउँदै गरेका युवतीहरुलाई अनुशासन र नैतिकताको बाक्लो जालोले बेरेर झन् झन् पछाडी धकेल्ने षड्यन्त्र गर्दै छ। नैतिकता के हो ? हामीले आफू अनुकुल नैतिकताको ब्याख्या गर्न सिकिसकेका छौँ । हाम्रो नैतिकताले नै हाम्रो चरित्र , हाम्रो व्यबहार र ब्यक्तित्व निर्माण गर्ने प्रशस्त आधार जुटाउँछ । हामीले आत्मसात गरेको नैतिकता बाट हाम्रो पहिचान पनि स्थापित हुन्छ। हामीमा जस्तो नैतिकता स्वीकृत भएको छ, त्यसैले नै हाम्रो जिवनको मुल्यमान्यता तोक्छ तर राजनीतिमा अन्धो नैतिकता र चरित्रको कुरा गरिन्छ जुन महिलामामात्र लागू हुन्छ।

पुरुष नेताहरू ठमेलबाट रङ्गेहात पक्राउ पर्दा पनि चरित्रवानमा गनिन्छन् तर महिलाहरू राजनीतिक कार्यक्रममा हिँड्दा पनि गलत रुपले ब्याख्या गरिन्छ। अझ भनौ पछिल्लो समय राजनीतिमा लागेका केही महिलाहरु त पुरुषद्धारा प्रयोग समेत भएका घटना सार्वजनिक भइरहेका छन् । विभिन्न प्रलोभनमा पारी शारीरिक शोषण गर्ने र छोडिदिने घटना पनि धेरै देखिएका छन्। राजनीति बौद्धिकता र क्षमताबाटमात्र सम्भव छ । कसैको आवश्यकता पूरा गरिदिन कसैले राजनीति गर्ने होइन। कसैको आवश्यकता पूरा गर्न नसक्दैमा कुनै महिला राजनीतिको लागी अयोग्य ठहरीने अबस्थाको अन्त्य गर्नुपर्छ। राजनीतिलाई बेश्याबृती गर्ने थलो बनाउने की समाज सेवाको धावन मार्ग ? समयमै बिचार पुर्याउन जरुरी छ। स्वस्थ राजनीतिक वातावरण तयार गरि राज्यको हरेक अङ्गमा बराबरको हिस्सेदारी कायम गर्न महिलाहरु स्वयमले यस्ता समस्याहरुको बिरुद्ध एकजुट भएर लाग्न जरुरी छ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment