Saturday, May 6, 2017

म गृहमन्त्री भएको भए अपराधीलाई सिधै जेल हालिदिन्थे : लालबाबु पण्डित (अन्तरवार्ता)

पूर्व सामान्यप्रशासन मन्त्री एवम् एमाले नेता लालबाबु पण्डित नेपालका लोकप्रिय र इमान्दार नेताका रुपमा स्थापित छन् । तत्कालीन कांग्रेस सभापति स्व.सुशील कोइराला प्रधानमन्त्री हुँदा सामान्य प्रशासनमन्त्री हुनुभएका पण्डितले विदेशमा बसेर दोहोरो नागरिकता लिनेहरुविरुद्ध धावा बोलेका थिए । इमान्दार छबि बनाएका नेता पण्डित एमालेका पूराना नेता समेत हुन् । मजदुर आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा स्थापित भएका उनले सरकारमा रहँदा चालेका कदमहरु निकै लोकप्रिय भएका थिए । योपटक उनै लालबाबु पण्डितसँग सुर्यखबर डट कमले समसामयिक राजनीतिक परिस्थिति, आफ्नो राजनीतिक जीवन र मुलुकको समृद्धिको सवालमा केन्द्रीत रहेर लिएको अन्तरवार्तालाई हामीले यहाँ प्रस्तुत गरेका छौ । प्रस्तुत छ अन्तरवार्ता:–

पूर्वमन्त्री ज्यु, तपाईको मोरङबाट राजनीतिक इतिहास सुरु भएको देखिन्छ, सायद त्यहाँबाट तपाईले एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गर्नुभएको होला, लालबाबुले चमत्कारै गर्छ भन्नेचाहि कसैले सोचेका थिएनन, तपाईले कुन आँटले सरकारी संयन्त्रभित्रै कर्मचारीलाई विदेशी नागरिकता लिने परम्पराविरुद्ध धावा बोल्नुभयो ?

–मैले विद्यार्थी जीवनमा राजनीति गरेको होइन, मैले मजदुर आन्दोनबाट राजनीति सुरु गरेको हुँ । मेरो मजदुर आन्दोलनमा सहभागिता काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रबाट सुरु भएको हो । २०३५ सालमा मेरै कोठाबाट, मैरै उपस्थितिमा नेपाल स्वतन्त्र मजदुर युनियनको गठन भएको हो । त्यसैको विकसित रुपमै जिफन्ट हो । त्यसको नेतृत्व अहिले विष्णु रिमालले गरिरहनुभएको छ, त्यसको जन्मदाता मै हुँ । त्यसपछि मलाई पार्टीले पूर्वी क्षेत्रमा खटायो । त्यो क्षेत्रमा मदन भण्डारीले नेतृत्व गरिरहनुभएको थियो । उहाँको सहयोगमा मैले पूर्वी क्षेत्रमा सात वर्ष काम गरेको थिए । पछि २०४६ साल भदौ १६ गते तत्कालीन मालेका देशभरिका सबै भूमिगत नेता कार्यकर्ता सार्वजनिक भयौं । २०४८ सालमा म पहिलोपटक मोरङ क्षेत्र नं.३ बाट निर्वाचित भएको हुँ । त्यसैबेलादेखि मैले नयाँ नयाँ कामहरु गर्नुपर्छ भन्ने सोच्ने गर्थे । मानिस आफु बाँच्ने मात्र होइन, अरुलाई पनि बचाउने समृद्धिको दिशातर्फअघि बढ्नुपर्छ भन्ने मान्यता मेरो हो ।

मलाई कोहीदेखि डराउनुपर्छ भन्ने छैन । त्यो दृष्टिकोणबाट हिडियो भने मात्र देशलाई उन्नती र प्रगतिको बाटोमा हिँडाउन सकिन्छ । राजनीतिक यात्रामा मलाई सबैभन्दा नमिठो महसुस भएको एउटा क्षण छ, त्यो हो म २०४८ सालमा निर्वाचित भएर आइसकेपछि तत्कालीन प्रधाननन्यायाधीशले मसँग एउटा कुरा गर्नुभयो । उहाँले आफ्ना परिवारका सदस्य सबै विदेश पठाइसकेको र आफुपनि रिटायर्ड भैसकेपछि विदेश जाने प्रसंग सुनाउनुभयो । त्यसबेला प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय हुनुहुन्थ्यो । उहाँले अमेरिका पलायन हुन्छु भनेपछि मलाई निकै नमिठो महसुस भयो ।

भरतमोहन अधिकारीकै नेतृत्वमा हामी त्यसबेला प्रधानन्यायाधीशकोमा डेलिगेशन गएका थियौ । उहाँले त्यसो भन्नुभयो । पछि यो प्रवृत्ति विकास हुँदै गयो । नेपालका राजदूतहरु समेत विदेशमै शरण लिन थाले । नेपालका सबैखालका कर्मचारीहरु विदेशमै शरण लिन थाले ।
त्यसैले मैलेचाहि के निचोड निकाले भने मैले अब यो लुटतन्त्रलाई बन्द गर्छु । जब म मन्त्री भए, त्योभन्दा अघि म एक ठाउँमा बसेको थिए । त्यहाँ एकजना कर्मचारीलाई डिभी परेको सुने र उनी विदेश जान लागेको सुने, त्यस्ता थुप्रै विकृतिहरु सुनिदै थिए । ठिक छ, संसारभर काम गरिरहेका र अध्ययनमा रहेका नेपालीहरुलाई भने म सलाम गर्छु । घुम्नै गएकाहरुलाई पनि म राम्रो मान्छु, किननभे दुनियाँ बुझ्नुपर्छ । तर एकै समयमा विदेशी नागरिक बन्ने प्रक्रियामा रहेका र बनिसकेकाहरुको विषयमा फाइनल हुनुपर्छ । त्यसैले मैले विदेशी नागरिकता लिने परम्पराविरुद्ध धावा बोले ।

तपाई गैरआवासीय नेपालीलाई के भन्नुहुन्छ त ?
–एनआरएनभित्र वास्तवमा भद्रगोल स्थिति छ । एनआरएनभित्र ९० प्रतिशत समय नेपालमा बिताउँछन, १० प्रतिशत बाहिर रहन्छन् र एनआरएनको सदस्यता लिन्छन् । उनीहरु मूलरुपमा कामचाहि नेपालमै गरिरहेका हुन्छन्, आफ्नो शानको निम्ति एनआरएनको सदस्यता लिइरहेका हुन्छन् । एनआरएनको सदस्यता लिएपछि सम्पतिवालको रुपमा नाम कमाउन सकिन्छ भनेर त्यो खालको फेसनको सुरुवात भएको देखिन्छ । साँच्चै विदेशमा काम गरिरहेकाहरुले चाहि नेपालको नागरिकता त्यागेका छैनन् र अन्य देशको नागरिकता लिने प्रक्रियामै गएका छैनन् नि !

तपाईले दोहोरो नागरिकता लिने विशेषगरी कर्मचारी वर्गभित्रको एउटा प्रवृत्तिलाई निस्तेज नै पार्नुभयो, तर डिभी परेरै गएकाहरु पनि त्यहाँको ग्रीन कार्ड लिने र एनआरएनको सदस्यता लिने अनि मिडियालाई किनेर आफ्नो पहुँच स्थापित गरिरहेका छन् भन्ने कुरा बाहिर आएको छ नि ?
–एनआरएनका सदस्यहरु नेपाली होइनन्, त्यसमध्ये नेपाली पनि छन् र भूपू नेपाली पनि छन् । नेपाली र भूपू नेपाली मिलेर बनेको नै संस्थानै एनआरएन हो । हल्ला गरेजति काम एनआरएनले नगेरेका भने सत्य हो ।

जस्तै, भूकम्पपीडितलाई एनआरएनले सहयोग गर्ने, वस्तीनै निर्माण गरिदिने भनेर एकपटक ठूलै हंगामा मच्चियो, तर अहिले आएर सिन्को पनि भाँचिएको छैन भन्ने सुनिन्छ, यसबारे तपाईको विचार के छ ?
–एनआरएन पनि भूपू नेपाली हुन् । नेपाली भएर नेपालप्रति माया गर्छन्, त्यो एउटा कुरा भयो । तर कुनै नेपालीले सँधैको लागि म नेपाली रहन्छु भन्ने सोच्दैनन् । आफ्नो देशको नागरिकलाई सहयोग गर्ने कुरा त छँदैछ तर कुनै देशको नागरिक बनेर जानु हुँदैन भन्ने मेरो मत हो । अन्य देशको नागरिक हुने प्रक्रियामा सामेल भयो भने तिनीहरुचाहि विस्तारै भूपू नेपाली हुन्छन् । भूपू नेपाली बन्ने बाटोमा मनै गइसकेपछि उनीहरुलाई सच्चा नेपाली ठानिदैन । मैले थुप्रै ठाउँमा गएर भनेको पनि छु, अन्य देशमा भोट हाल्ने अनि नेपालमा पनि भोट हाल्न कसरी सुहाउँछ ? ती मान्छेलाई लाज सरम अलिकति पनि लाग्दैन ? म प्रस्ट भन्न चाहान्छु, हो दार्जिलिङमा नेपाली मुलका मानिसहरु बस्छन् । तर ती त नेपाली मुलका भारती हुन् नि त । उनीहरुको राष्ट्रियताको मूल भने नेपाली हुन सक्छ तर राष्ट्रियता भनेको के हो ? भने जसले जुन देशको नागरिकता लिएको हुन्छ, त्यही जोडिन्छ । दौरा सुरुवाल लगाउँदैमा नेपाली हुँदैन नि ।

अमेरिका र युरोपमा पुगेका नेपालीहरुले त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्यागेका छैनन् र हुदैनन्, उनीहरुले त्यहाँ पनि र नेपालमा पनि ठूला ठूला कम्पनीमा लगानी गरिरहेका हुन्छन्, तिनीहरुको लागि अब कस्तो व्यवस्था गर्नुपर्ला ?
–अमेरिका, क्यानडा र बेलायतको नागरिकता लिएर नेपालको नागरिकता पनि राख्नु र भारतमा उत्तर प्रदेश, बिहार र बंगाल अथवा भारतको नागरिक भएर नेपालको नागरिकता पनि बनाउनु भनेको यिनमा कुनै भिन्नता छैन । यसलाई भनिन्छ दोक्ला चरित्र । राष्ट्रियतामै दोक्ला चरित्र भयो भने काम लाग्दैन । त्यसकारण जहाँको नागरिक हो, त्यहीको एउटा नागरिकता लिनुपर्छ ।

त्यो खालको दोहोरो नागरिकता लिनेलाई राज्यले के गर्नुपर्ला ?
–नेपालको कानूनमा एउटै देशको नागरिकले दुईवटा नागरिकता लियो भने दण्डित हुन्छ भनेको छ । दुई देशको नागरिकता लिँदा के हुन्छ ? अहिलेको संविधान एउटा कुराको प्रावधानचाहि राखेको छ । पहिला परिचयपत्र थियो, तर अहिले अलि फरक छ । उनीहरु विदेशी नागरिक हुन चाहान्छन् र नेपालमा आर्थिक, सामाजिक क्रियाकलापमा भाग लिन्छन् भने त्यो अधिकार पाउँछन् तर बंशजको अधिकार पाउनु हुँदैन । एक पटकको नेपाली भावनासहितको नेपाली भयो भने त्यसमा राष्ट्रियता जोडिन्छ । त्यसैले उनीहरुले भनेर मात्र हुँदैन, त्यसरी दिइँदैन र दिन मिल्दैन । अहिलेको नेपालको संविधानले पनि यो कुरा प्रस्ट रुपमा भनेको छ । संविधानको ऐन निर्माणको बेला म आफै पनि सहभागी भएका कारण त्यो व्यवस्था गरेको अवगत गराउँछु । माग गर्नु एउटा कुरा हो, पाउनु अर्को कुरा हो । उहाँहरुको माग नै गलत छ ।

एनआरएनले गरेका क्रियाकलापहरुका बारेमा केही बताइदिनुस् न ?
–एनआरएनका सदस्यहरुले मात्र यो देशमा बहुराष्ट्रिय कम्पनीहरुले पनि लगानी गरेका छन् । उहाँहरुले राष्ट्र निर्माणका लागि कति सहयोग नेपाल सरकारलाई गर्नुभएको छ, त्यसको आधारमा मुल्यांकन गरिनुपर्छ । उहाँहरुले आफुलाई सुरक्षित मानेर लगानी गर्नुभयो भने प्रतिफल पनि राम्रो आउँछ तर उहाँहरुले राजनीति पनि मैले नै गर्न पाउनुपर्छ भन्ने सोच राख्नुभयो भने त्यो राम्रो हुँदैन ।

प्रसंग बदलौ, नेपालमा यसबेला संविधान संशोधनको मुद्धा सदनमा उठिरहेको छ, जसले केन्दीय राजनीतिलाई प्रभावित पारिरहेको छ, यसबारेमा के भन्नुहुन्छ ?
–संविधान कार्यान्वयन सँगसँगै परिस्कृत पनि हुँदै जाने कुरा हो । संविधान संशोधन पारित हुन्छ भन्ने मलाई विश्वास छैन । अहिले मधेस र पहाडलाई छुट्याउने खालका कुराहरु बाहिर आएका छन्, यो राष्ट्रका लागि घातक छ । यो कुरा उठ्नु हुन्न ।

पछिल्ला वर्ष लोडसेडिङले आक्रान्त मुलुकमा बत्ती बल्न सुरु भएको छ, यो राम्रो काम भएको छ, यो जसचाहि तपाईको विचारमा कसलाई जान्छ जस्तो लाग्छ ? सरकारले त राम्रै काम गर्यो नि हैन ?
–यो जस जसले काम गर्यो उसैलाई जाने हो । अर्को कुरा जुनबेला म अघिल्लो सरकारमा म सामान्य प्रशासनमन्त्री थिए, त्यसबेला एउटा अन्तरवार्तामा मलाई सोधिएको थियो, यदि तपाइँ उर्जामन्त्री भएको भए के गर्नुहुन्थ्यो भनेर एउटा प्रश्न सोधिएको थियो ? मैले त्यसबेला भनेको थिए, म उर्जामन्त्री भएमा अहिलेको अवस्थामा सात दिनभित्रमा ५० प्रतिशत लोडेडिङ घटाउन सक्छु भनेर त्यहीबेला भनेको थिए । यदि गृहमन्त्री भए के गर्नुहुन्थ्यो भनेर सोधिएको प्रश्नमा मैले ६ महिनाभित्र ७५ प्रतिशत अपराध घटाउने थिए भनेको थिए, त्यसबेला अर्को प्रश्न गरिएको थियो, यदि तपाई शिक्षा मन्त्री भएको भए के गर्नुहुन्थ्यो भनेर । मैले उत्तर दिएको थिए, स्कुलमा नपढाउने शिक्षकहरु शिक्षक हुने थिएनन् र जो शिक्षक हुन्थे, ती स्कुलभन्दा बाहिर हुने थिएनन् भन्ने उत्तर दिएको थिए । नेपालको जुनसुकै क्षेत्रमा अपराधीलाई जोगाउने काम भैरहेको छ । अपराधलाई संरक्षण हुने काम भएको छ । उनीहरुले दण्ड नपाएपछि दण्डहिनता बढेको हो । नेपालको हरेक क्षेत्रमा दण्डहिनतानै सबैभन्दा ठूलो समस्या हो ।

जसरी तपाई सरकारमा रहँदा सबै पार्टीका कार्यकर्ता र जनताले मन पराउँथे भने अहिले कुलमान घिसिङलाई पनि राम्रो मानिरहेका छन्, यो बेला तपाई कुलमान घिसिङलाई के सुझाव दिनुहुन्छ ?
–कुलमान घिसिङले अहिले निकै राम्रो काम गर्नुभएको छ । उहाँले गर्नुभएको कामलाई सम्मान गर्दै उहाँलाई म बधाई पनि दिन चाहान्छु ।

तपाईले शिक्षा र स्वास्थ्यको प्रसंग पनि जोड्नुभो के त्यहाँ चरम भ्रष्टाचार र लापर्वाही फष्टाउँदै गएको भन्न खोज्नुभएको हो ?
–हो, उदाहरणका लागि एउटा शिक्षककै कुरा गरौं न, जहिले पनि माग मागरिहेको देखिन्छ, ड्युटी बिर्सेको छ । अधिकार र कर्तव्यको सन्तुलन भएन भने त्यसको काम छैन । सडक र पुल बनाउनेले कम गुणस्तरीयको बनाउनु र प्रहरीले अपराधीलाई पक्राउ गर्नुको साटो निरअपराधीलाई पक्राउ गर्यो भने त्यहाँ के होला ? राजनीतिक रुपमा पनि अपराधीहरुलाई संरक्षण गर्नु भएन । जस्तै, लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउदा पवित्र उद्धेश्यले बनाएको होइन ।

कार्कीलाई अख्तियार प्रमुख बनाउँदा जसले बनाउनु भो उहाँहरुले नै अयोग्य भनेर हटाउन प्रस्ताव गर्नुभयो, तर सर्वोच्च कार्कीलाई हटाइदियो, तर त्यो नियुक्ति गर्दा सबै दलहरु असक्षम भएका होइनन् र ?
–लोकमानको पैसा बोकी हिड्ने व्यक्तिलाई नै मैले दण्डित गरेको थिए । त्यसपछि सर्वोच्च अदालतमा ममाथि ३ वटा मुद्धा परे । जसलाई मैले दण्डित गरे, उसले पनि मलाई मुद्धा हाल्यो । जब मुद्धा हारे, तब अख्तियारबाट मलाई फोन आयो, तपाईले जित्नुभयो, हामीले हार्यो भनेर । त्यतिखेरको प्रवक्ताले नै मलाई फोन गरे । परिवर्तन सम्भव छ, त आफुबाटै सुरु गर्नुपर्छ । बाबुराम भट्टराईले पनि मलाई फोन गरेर भन्नुभएको थियो, काम त राम्रै गर्नुभयो तर समय ठिक समयमा गर्नुभएन ।

अहिले प्रचण्ड नेतृत्वको सरकार छ, १७ औं हजार मानिस मारेर आएका उनी अहिले मुलुकको कार्यकारी प्रमुख छन्, के उनले यो देशको नेतृत्व गर्न न्यायिक हुन्थ्यो र ? यसबारेमा के भन्नुहुन्छ ?
–नेपालको एउटा ठूलो समस्या राजनीतिभित्र रहेको छ । मैले हरेक ठाउँमा भन्ने गरेको छु, समस्यादेखि भागेर समाधान हुन्न् र मागेर समृद्धि कहिल्यै हुँदैन । उदाहरणका लागि आज पूर्वपश्चिम राजमार्ग नेपालमा मेरुदण्ड भएको छ । नेपालीहरुको विदेशहरुको मुख ताक्ने बानी छ त्यो राम्रो होइन । त्यस्ता नेताहरु पनि छन्, जसका कारण नेपालमा शान्ति स्थिरता र विकास सम्भव छैन । दण्डहिनता सबै क्षेत्रमा लागू हुनुपर्छ । सबै व्यक्ति परीक्षाबाट गुज्रिनुपर्छ, त्यो राम्रो र नराम्रो दुइटै हुन्छ । मैले फलानोले छुट पाउनुपर्छ भनेर कसैलाई भन्ने कुरा आएन, सामुहिक रुपमा कानूनले त्यसलाई कठघरामा ल्याउनुपर्छ ।

नेपालमा किन यस्तो भयो त ?
–नेपालमा आफुतिर फर्केर नहेर्ने अरुतिर मात्र फर्केर हेर्ने प्रवृत्ति छ । आफु समृद्ध भयो भने मुलुक समृद्ध हुन्छ तर नेपालमा ढोंगचाहि देखाउने गरिन्छ । अहिले भन्नुहुन्छ भन्ने यो देशको प्रधानमन्त्री नै कंगाल छन् भन्यो भने त्यो कसैले पत्याउँदैन ।

अघिल्ला प्रधानमन्त्रीहरुले पनि थोरै सम्पति देखाए, अहिलेका प्रधानमन्त्रीले पनि थोरै सम्पति देखाउनुभयो, के यो वास्तविकता हो त, जनताले यसलाई कसरी विश्वास गर्ने ?
–म आफैं पनि सुशील कोइरालाको सरकारमा थिए । उहाँलाई धेरैले आलोचना पनि गरेनन् । उहाँको छबि पनि राम्रो थियो । म क्याबिनेनमा रहन्जुल बैठकमा पनि रातो चिया र केही बिस्कुट खानुहुन्थ्यो । अरुलाई पनि त्यही भयो । म आफै पनि क्याबिनेटमा जानुअघि मेरै सचिवालयमा अघिल्ला मन्त्रीहरुले मासिक ७० हजारसम्म खर्च गर्दा रहेछन्, मैले त्यसलाई २० हजारमा झारिदिए । महंगी बढ्दै जाँदा केही खर्च त बढ्छ नै । राम्रो र नराम्रो गर्ने भनेको आफैंले गर्ने हो । मन्त्री भएपछि श्रीमती पिए राख्नेले राम्रो काम गर्छन् भन्नु बेकार कुरा हो । किनभने आफ्नो अपराध लुकाउनका लागि उसले श्रीमतीलाई पिए राखेको हुन्छ । आफन्तलाई सचिवालयमा राख्नु भनेको अपराध लुकाउन खोज्नु हो । अहिलेका प्रधानमन्त्रीले पनि छोरालाई सचिवालयमा राख्नुभएको छ, तर सुशील कोइरालाले त त्यसो गरेनन् नि । मैले पनि त मेरो श्रीमती राख्या भए हुन्थ्यो नि त ।

अलिकति प्रहरी संगठनभित्रको कुरा पनि गरौं, त्यहाँ राम्रो काम गर्ने अफिसरमध्ये रमेश खरेलजस्ता प्रहरी अफिसर पनि छन्, उनीहरुलाई कस्तो र कसरी हौसला दिनुहुन्छ तपाई ?
–रमेश खरेलजीको बारेमा सुरु देखिनै त मलाई थाहा छैन । तर उहाँले गरेका कामलाई जनताले भने मन पराएका छन् ।

पूर्वमन्त्री ज्यु तपाईले यो देशमा सबैभन्दार राम्रो देखेको र असल व्यक्ति कसलाई मान्नुहुन्छ ?
–व्यक्तिभित्र सामान्यत सबैका कमजोरी त हुन्छन् नै । काम नै नगर्ने प्रवृति भएको हाम्रो मुलुकमा कसलाई मान्नु र ! तर मैले मान्ने भनेको एउटा व्यक्तित्व मलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रशिक्षित गर्ने नेता स्व. मदन भण्डारी हो । उहाँको एउटा बानी के थियो भने आफुतिर फर्केर हेरेर मात्र परिवर्तनलाई आत्मसात गर्ने बानी मलाई असाध्यै मन पथ्र्यो । अरुका लागि परिवर्तन गर्नुअघि आफु परिवर्तन हुनुपर्छ भन्ने उहाँको असाध्यै राम्रो बानी थियो । आफ्नो परिवर्तन भनेको निजी सोच राखेर असाध्यै संकिर्ण र व्यक्तिवादी हुने भनेको होइन, परिवर्तनका लागि सुरुमा आफुले पाइला चाल्नपर्छ भन्न खोजेको हो । व्यक्तिगत रुपमा मोडलकै रुपमा जिवित पात्र भने नेपालमा मैले देखेको छैन । सम्पूर्ण मुलुकलाई नेतृत्व दिने व्यक्तित्व कोही पन देखिदैन ।

नेपालको इतिहासमा यस्ता पात्र पनि छन्, जसलाई सबैले मान्दै आएका छन्, तीमध्ये राष्ट्र निर्माता पृथ्वीनारायण शाह पनि पर्छन्, उहाँलाई चाहि तपाई कस्तो दृष्टिकोणबाट हेर्नुहुन्छ ?
–पृथ्वीनारायण शाहले राष्ट्रियताको संरक्षणका निम्ति त्यतिखेरचाहि ठूलै काम गर्नुभो । त्यतिखेरको राम्रो काम भनेको राज्य विस्तारनै थियो । अहिले राज्य विस्तारका मुद्धाहरु राजनीति मुद्धाहरु होइनन् । अहिलेको सन्दर्भबाट हेर्दा उहाँले राज्य विस्तारमार्फत राष्ट्रियता बलियो बनाएको देखिए पनि जनतामा आमुल परिवर्तन भने ल्याउन सक्नु भएको थिएन । नेपाल एकीकरणमा उहाँको योगदान महत्वपूर्ण भएपनि जनतालाई परिवर्तनको अनूभूति दिन सक्नुभएन ।

यसबेला माओवादीहरुलाई हेर्ने तपाईको दृष्टिकोणचाहि के छ ?
–माओवादी कम्युनिष्ट भित्रको विकृत रुप हो । मैले संसारका अन्य ठाउँहरुमा पनि हेरें । राणनीतिक महत्वको कदमको नाममा पुल, भवन लगायतका सबै भौतिक संरचनाहरु ध्वस्त पारेर उनीहरुले राष्ट्रलाई निकै ठूलो क्षति पुर्याए । उहाँहरु भौतिक संरचना देख्नै नहुने र प्रतिक्रान्तिकारी देख्नै नहुने समस्याबाट ग्रस्त हुनुहन्छ । त्यतिमात्रै होइन उहाँहरुले पैसा पनि देख्नै नहुने भो । तत्कालीन मालेले त झापा आन्दोलनमा पैसा सबै छरेर क्रान्तिमा होमिएको हो नि, जसको नेतृत्व त्यसबेला सीपी मैनाली लगायतले गर्नुभएको थियो । अहिले त उहाँहरु बैंक लुट्न पो जानुभयो । बैंक मात्र लटिएन हज्जारौं मान्छे मारिए, यी सबै कम्युनिष्ट आन्दोलनभित्रका विकृत रुप हुन् ।

नेपाली कांग्रेस र मधेसवादी दलहरुलाई कस्तो दृष्टिकोणबाट हेर्नुहुन्छ ?
–मधेसवादी दलहरु त अरुको पोल्टामा र निर्देशनमा हिड्ने पार्टी हुन् । उनीहरुको कुरै नगरौं । कांग्रेसले प्रजातन्त्रको कुरा त गर्छ उ वाक स्वतन्त्रताको मात्र पक्षधर हुन् ।

तपाई एमालेको एउटा उच्च तहको नेता मात्र होइन, जनताले पत्याएको नेता पनि हुनुहुन्छ, एमालेभित्रका कमीकमजोरीचाहि के के छन् नि ?
–समाजभित्रको राम्रो नराम्रो कुराको प्रतिबिम्बन एमालेभित्र पनि पर्छ । तुलनात्मक रुपमा एमालले सबैभन्दा बढी प्रजातान्त्रिक अभ्यास पनि गरिरहेको छ । सन्तुलित रुपमा पुरातनवादी सोचहरुलाई समाप्त पारेर राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्दै मुलुकलाई सुखी र समृद्धीको बाटोमा लैजानको निम्ति प्रयत्न गरिरहेको छ ।

मुलुकलाई पछाडि धकेल्नमा कांग्रेस, एमाले र माओवादी उत्तिक्कै दोषी छन्, सबैले यसको जिम्मेवारी लिनैपर्छ तर एमालेका के के कमजोरीले यो अवस्था बेहोर्नुपर्यो त्योचाहि प्रस्ट पारिदिनुस् न ?
–एमालेलाई म चौबिस क्यारेटकै सुनचाहि भन्दिन । उसका पनि कमजोरी छन् र त यो अवस्था आयो । यसलाई राम्रो खालको सुन हो भनेर म पनि भन्न सक्दिन ।

तपाई यदि प्रधानमन्त्री हुनुभो भने पहिलो काम के गर्नुहुन्छ ?
–नेपालमा कस्तो प्रधानमन्त्री र कतिजना मन्त्रीहरुको आवश्यकता हुन्छ भनेर मैले त्यसबेला पनि कुरो उठाएको थिए । पहिलो कुरा त, एकजना प्रधाममन्त्रीको नेतृत्वमा ४ जना मन्त्रीहरु राखेर सरकार चलाए निकै राम्रो हुन्छ जस्तो मलाई लाग्छ । अलि मिलाएरै राज्य चलाऔं भन्ने हो भने दश जनाको मन्त्रिमण्डल बनाए हुन्छ, जसको नेतृत्व एकजना प्रधानमन्त्रीले गर्नुहुन्छ, त्यो भन्दा बढी यो देशका लागि चाहिएकै छैन । जबसम्म अहिलेको जस्तो बोझ हुन्छ, तब सम्म मुलुकले सही दिशा पक्रिदैन । उता, संसदमा पनि ६ सय १ जनाको गतिविधि त्यस्तै देखिन्छ । वास्तवमा भन्नुपर्दा अहिले एकता मात्र होइन केही कुरामा अंकुशनै लगाएर भएपनि समृद्धिको बाटोमा हिड्न जरुरी छ । भत्काउनेहरुलाई निजी सम्पतिबाट दण्डित गरिनुपर्छ ।

निजी सम्पतिबाट दण्डित भन्नाले ?
–जस्तै,कसैले सडकमा गाडी फोर्यो, पुल भत्कायो भने उसले निजी सम्पतिबाटै तिर्नुपर्यो । यदि भयो क्षति नै हुँदैन । नेपालमा जहाँताही थुक्ने मानिस अमेरिका पुगेपछि किन त्यहाँको सडकमा थुक्दैन ? त्यहाँ एकपटक थुकियो भने २ सय डलर जरिवाना तिरिहाल्नुपर्छ । त्यसकारण, ऐन परिवर्तन गरेर भएपनि यो खालको व्यवस्था नेपालमा गर्नुपर्छ, यदि ऐन परिवर्तन नगरी हुन्छ भने त त्यो गर्न सकि हालिन्छ, अनिमात्र व्यवस्थित हुन्छ ।

यदि म नेपालको सामान्यप्रशासनमन्त्री नभएर गृहमन्त्री भएको भए मलाई निजामती सेवाको ऐनचाहि अर्को ल्याउनुपर्ने थिएन, किनभने जुन कर्मचारीले नेपालको सपथ लिएर विदेशको डिभी पिआर लिएका हुन्थे भने उनीहरुलाई म सिधै थुनिदिन्थे । पहिला जेल हाल्थे अनिमात्र अनुसन्धानतिर लाग्थे । विदेशीहरुको पुरस्कार लिनुपर्ने भयो भने क्याविनेटले निर्णय गर्नुपर्ने सम्मको नियम त नेपालमा पनि छ नि । यसरी ऐन र नियमलाई बेवास्ता गर्न पाइन्न ।

अन्तमा केही भन्नु छ ?
–यसबेला सकारात्मक सोंच, परिवर्तनको बाहक र म केही गर्छु भन्ने आत्मविश्वासका साथ जो अघि बढ्छ उसले सफलता प्राप्त गर्छ भन्ने विश्वास छ । यही सोचका साथ अघि बढौं भन्ने सबैलाई आव्हान गर्न चाहान्छु ।

Source : suryakhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment