Monday, May 22, 2017

धेरै शब्द सम्झने सजिलो तरिका

धेरै विद्यार्थीकोे साझा समस्या हुन्छ, पढेको कुरा सम्झन नसक्ने तथा चाँडै बिर्सने । उनीहरूको सधैँ उस्तै गुनासो हुन्छ, जति पढे पनि याद नै हुँदैन । साइकोलोजिस्ट मार्गरेट डब्लू माटलिनका अनुसार स्मरण शक्ति भनेको ‘समयको अन्तरालसँगै सूचनाहरूलाई संरक्षण गरिराख्नु हो ।’ सूचनाहरूलाई लामो समयसम्म संरक्षण गर्ने पनि विधि हुन्छन् । स्मरण शक्ति बलियो बनाउने केही तरिकाबारे अर्पण शर्माका सुझाब यस्ता छन्:

अब हामी सबैभन्दा सरल र सुरुवाती तरिका सिक्नेछौँ । यसलाई कथा विधि भनिन्छ । यो उपाय सिक्नुभन्दा पहिला एउटा प्रयोग गरौँ । तल लेखिएका ३० वटा शब्द ६ मिनेटमा जस्ताको त्यस्तै याद गर्ने कोसिस गरौँ ।

अब याद गर्ने सजिलो तरिका सिकौँ । त्यसपछि तपाईंलाई ती ३० वटा शब्द जस्ताको तस्तै याद आउँछन्, अगाडि–पछाडि दुवैतिरबाट ।

-एक नम्बरको शब्द सुन्तला हो । यसका लागि एउटा सुन्तला कल्पना गर्नुस् । त्यो सुन्तला कत्रो छ ? कस्तो छ ? सबै कल्पना गर्न सकिन्छ । यसरी कल्पना गर्दा वा मानसिक चित्र बनाउँदा सबै कुरामा ध्यान दिनुपर्छ । भरसक पाँचवटै इन्द्रियको प्रयोग गर्दा स्मरण शक्ति बलियो हुन्छ ।

-कल्पनामा डुबेर आँखाले सुन्तलाको रङ हेर्नुहोस्, मुखले एकपल्ट सुन्तला भन्ने, त्यो सुन्तला तपाईंले खानुभयो भने कस्तो स्वाद हुन्छ, अनुभव गर्नुहोस् । कानले सुन्तला भनेको आवाज सुन्नुहोस् र नाकले सुन्तलाको गन्ध थाहा पाउने कोसिस गर्नुहोस् । त्यस्तै, छालाले कल्पनामै सुन्तलालाई छोएर अनुभव गर्नुहोस् ।

-पाँचवटै इन्द्रियको प्रयोग गर्नुभयो ? अब दोस्रो नम्बरमा चरा छ । यसलाई पनि त्यसै गरी कल्पना गरौँ । अब त्यो सुन्तलालाई चराले खाँदै गरेको कल्पना गर्नुहोस् । यसरी नै कथा बनाउन थाल्नुहोस् । दिइएका शब्दबारे दिमागमा चलचित्र नै बनाउनुहोस् । यो चलचित्र हिट बनाउने कि फ्लप, आफ्नै हातमा छ । हिट हुनु भनेको सबै कुरा सम्झिनु हो । अब सुन्तला खाँदै गरेको चराले गाडी (तीन नम्बर) कुदाउँदै गरेको कल्पना गर्नुहोस् । त्यसपछि चराले गाडी कुदाउँदै गर्दा एउटा हात्ती (४ नम्बर) अगाडि आएको र त्यो हात्तीले साइकल (५ नम्बर) कुदाउँदै गरेको कल्पना गर्नुहोस् । याद राख्नुस्, कल्पना गर्दा जति हाँसउठ्दो र आश्चर्यजनक बनाउनुहुन्छ, त्यति नै याद गर्न सजिलो हुन्छ । अब साइकल कुदाउँदै त्यो हात्ती हस्पिटल (६ नम्बर) गएको कल्पना गर्नुहोस् । जहाँ उसको साथी (७ नम्बर) भर्ना भएको छ । यो सबै कल्पना गर्दै जानुस्, एउटा हाँसउठ्दो र रमाइलो कथा बनाउँदै जानुहोस् । यसरी ३० वटै शब्दलाई सृजनात्मक तरिकाले चित्र बनाउँदै जानुहोस् । सकियो ? अब त्यो पूरै कहानी एकपल्ट आँखा चिम्लेर फेरि कल्पना गर्नुहोस् ।

-अब एउटा कागजमा ती ३० वटा शब्द लेख्ने प्रयास गर्नुहोस् । कतिवटा लेख्न सक्नुभयो ? राम्ररी कल्पना गर्नुभएको थियो भने ३० वटै जस्ताको तस्तै लेख्न सक्नुहुन्छ । नसके पनि २०, २५ वटा त पक्कै पनि सकिन्छ । त्यो पनि क्रमबद्ध रूपमा । कति सजिलो रहेछ है याद गर्न । अबदेखि कुनै पनि कुरा याद गर्दा त्यसलाई चित्र या कथामा परिणत गर्नुभयो भने बिर्सिने समस्या हुँदैन ।

१. सुन्तला २. चरा ३. गाडी ४. हात्ती ५. साइकल ६. हस्पिटल ७. साथी ८. रुमाल ९. बुबा १०. पत्रिका ११. सोफा १२. पंखा १३. कम्प्युटर १४. आगो १५. बन्दुक १६. चम्चा १७. कापी १८. ढोका १९. पात्रो २०. हिरो २१. घडी २२. फलफूल २३. पैसा २४. गाग्रो २५. सर्प २६. छिमेकी २७. डोरी २८. फलाम २९. पसिना ३०. पुलिस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment