Wednesday, May 3, 2017

दुई वर्षपछि मलेसियाबाट फर्किएका रामदुलारलाई श्रीमतीले भनिन्–‘डिभोर्स देउ’

‘म तिमिसँग बस्दिन मलाई डिभोर्स देउ’ दुई वर्ष मलेसिया बसेर फर्किएका रामदुलार (नाम परिवर्तन) लाई श्रीमतीको बोलीले झस्कायो ।
श्रीमतीले किन यस्तो भनिन् उहाँले सोच्नै सक्नुभएन । अब सँगै नबस्ने भनेकी श्रीमती त्यति भनेर माइत गइन् । रामदुलारले सात वर्षअघि प्रेम विवाह गर्नुभएको थियो । बिहे गरेको एक वर्षपछि छोरी जन्मिइन् ।
परिवारको जिम्मेवारी थपिएपछि रामदुलारले कति अभाव र यही झुपडीमा बस्ने ? विदेश जान पाए झुपडीलाई घर बनाउन सकिन्थ्यो कि भन्ने सोचेर श्रीमतीसँग सल्लाह माग्नुभयो । तर श्रीमतीले मानिन् । उनले सुरुमा विदेश जानै पर्दैन भनेर अड्डी कसेकी थिइन् ।

तर रामदुलारले अहिलेदेखि नै कमाउन सकिएन भने छोरीको भविष्य बिग्रिन्छ भनेर बुझाएपछि विदेश जान अनुमति दिएकी श्रीमतीले उहाँसँग शर्त राखिन ।
रामदुलारलाई श्रीमतीले राखेको शर्त थियो विदेश जाने भए घरमा होइन छोरीसहित डेरामा राख्नुपर्ने । ‘उसले छोरीको पढ्ने बेला भयो त्यसैले मलाई छोरीसहित डेरामा राखिदिनुपर्छ भनेकी थिइ’ रामदुलारले सम्झिनुभयो ।
श्रीमतीले भनेको नमाने विदेश जान नपाइने पो हो कि भन्ने लागेपछि रामदुलारले श्रीमतीलाई छोरीलाई स्कूल पठाउने सजिलो हुने ठाउँमा डेरा खोजेर राखिदिनुभयो । श्रीमती र छोरीलाई डेरामा राखेपछि रामदुलार २०७१ सालमास्थानीय एजेण्ट मार्फत एक लाख १५ हजार रुपैयाँ तिरेर मलेसिया जानुभयो ।
मलेसियामा टेलिभिजन प्याकिङ्गको काम पाएका रामदुलारले महिनामा ४५ हजार रुपैयाँ कमाउनुहुन्थ्यो । बस्ने व्यवस्था कम्पनीले नै गरिदिएकाले उहाँले महिनाको ३० हजार रुपैयाँ घरमा पठाउनुहुन्थ्यो ।
उहाँले पठाएको पैसाले श्रीमतीले पनि ऋण तिर्नुभयो । उहाँले फोन गर्दा पनि राम्रै कुरा हुने गरेको रामदुलारको भनाई छ । ‘छोरी र मलाई सन्चै छ । तपाई कहिले आउने ? भनेर सोध्थिन्’ रामदुलार भन्नुहुन्छ ‘त्यतिबेला म दुई बर्षपछि छुट्टी मिलायर आउँछु भन्थें ।’
श्रीमतीलाई भने जस्तै रामदुलार दुई वर्षमै घर फर्किनुभयो । घर फर्किंदै गर्दा अब त घर बनाउँछु अनि श्रीमती र छोरीलाई आफ्नै घरमा राख्ने योजना बन्नुभएको थियो रामदुलारले । तर घर आएपछि उहाँको योजना पुरा भएन । सुरुमा पठाएको पैसाले ऋण तिरेकी श्रीमतीले त्यसपछिको पैसा भने श्रीमानलाई दिइनन् । उल्टै श्रीमतीले सोच्दै नसोचेको कुरा गरेपछि उहाँलाई छाँगोबाट झरेजस्तै भयो ।
आफूसँग नबस्ने भन्दै माइत पुगेकी श्रीमतीलाई माइतीले पनि घर फर्किन आग्रह गरे । तर उनले धेरै कर गरे झुण्डिने धम्कि दिएपछि परिवारले पनि केही गर्न सकेन । त्यसपछि रामदुलारले थाहा पाउनुभयो श्रीमतीको डेरासँगै बस्ने अर्को केटासँग सम्बन्ध रहेछ अनि उनी अब त्यही केटासँग बस्न खोजेकी रहेछिन भन्ने ।
रामदुलारले अरुसँग सम्बन्ध राखेकाले आफूलाई छोड्न लागेको बताएपनि श्रीमतीले भने श्रीमानले आफूलाई हिंसा गर्ने गरेकाले नबस्ने निर्णयमा पुगेको बताइन् । ‘अरुको छेउमा माया गरेजस्तो गरेपनि घरमा ममाथि अत्याचार गर्छ त्यसैले म अब ऊसँग बस्नै सक्दिन’ श्रीमती भन्छिन् ।
के गल्ती भएर श्रीमतीले आफूलाई छोड्न खोजिन भन्ने रामदुलारले पत्तो पाउन सक्नुभएन । तर एउटा कुरा उहाँको दिमागमा घुमिरहन्छ ‘विदेश जाने बेलामा श्रीमतीलाई परिवार भन्दा टाढा राखेर गल्ती गरेंछु ।’ परिवारसँगै भइदिएको भए यस्तो हुँदैनथ्यो कि भन्ने लागिरहन्छ रामदुलारलाई ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment