Monday, May 1, 2017

महाभियोगले राप्रपामा रस्साकस्सी, सरकारबाट बाहिरिने विषयमा विवाद

महाभियोगले राप्रपामा रस्साकस्सी, सरकारबाट बाहिरिने विषयमा विवाद
काठमाडौं, बैशाख १८– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले महाभियोग लगाएसँगै सोमबार राप्रपाको आकस्मिक बैठक बसेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यम्पादन समिति, मन्त्रीहरु तथा सीमित केन्द्रीय सदस्यसहितको संयुक्त बैठकमा महाभियोग प्रस्ताव, अब सरकारमा पार्टीको सहभागिता रहने या नरहने भन्ने विषयमा छलफल भएको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।
यस्तै पार्टी लाइन विपरितको गतिविधि गर्ने सांसदमाथि कस्तो कदम चाल्ने भन्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । बैठकमा केहि नेताहरुले यी तीन विषयमा धारणा राखेको र अरु नेताहरुले पनि बोल्न बाँकी रहेकाले समय अभावको कारण देखाउँदै बैठक बेलुका ५ बजेसम्मको लागि स्थगित गरिएको छ ।

बैठकमा महाभियोग र पार्टी लाइनविपरितको गतिविधि गर्ने सांसदको विषयमा नेताहरुबीच समान धारणा आएको छ तर सरकारबाट बाहिरिने विषयमा भने फरक फरक धारणा आएको अर्का एक नेताले बताएका छन् ।

बैठकमा सहभागि एक उच्च नेताले रातोपाटीलाई बताएअनुसार कमल थापा निकटका नेताहरुले सरकारबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए । राजीनमा दिँदा जनतामा जान सजिलो हुने तथा कार्यकर्तामा पनि सकारात्मक सन्देश जाने उनीहरुको धारणा थियो । उनीहरुले राप्रपा सत्तासहयात्री दल भएपनि कांग्रेस र माओवादी केन्द्रले कुनै पनि छलफल नगरीकन महाभियोग ल्याएको भन्दै आपत्ति पनि जनाएका थिए । यतिमात्रै नभई उनीहरुले न्यायालयमाथि गलत प्रहार भएको भन्दै यसविरुद्ध पार्टीले सशक्त प्रतिरोध गर्नुपर्ने धाराणा राखेका थिए ।

तर पूर्वराप्रपा पृष्ठभूमिका नेताहरुले भने आवेगमा आएर राजीनामा दिँदा राजनीतिक माहोल थप विग्रन सक्ने भन्दै सूझबुझपूर्ण निर्णय गरिनुपर्ने धारणा राखेका छन् । उनीहरुले निर्वाचनको मुखमा सरकारबाट बाहिरिए चुनावनै भाँडिनेसम्मको अवस्था आउने सक्ने खतरा औंल्याउँदै यसमा पार्टीले सूझबुझपूर्ण निर्णय गर्नुपर्ने धारणा राखेका थिए ।
यद्यपी उनीहरुले पनि महाभियोग गलत समयमा लगाइएको भने बताएका थिए । यस्तै पार्टीको लाइनविपरितको गतिविधि गर्नेलाई कस्तो खालको कारबाही गर्ने भन्नेमा पनि गम्भीर बहस भएको र साँझ ५ बजे बस्ने बैठकमा थप छलफल गरेर टुंगोमा पुगिने बताइएको छ ।
राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले सरकारले ल्याएको मनपरि निर्णय विरुद्ध राप्रपा चुप रहन नसक्ने भन्दै यसविषयमा सरबारबाट बाहिरनेसम्मको निर्णय हुन सक्ने यसअघि नै रातोपाटीलाई बताएका थिए ।
बैठक स्रोतका अनुसार पार्टी अध्यक्ष कमल थापाले भने विकसित राजनीतिक घटनाक्रमबारे व्रिफिङ गर्दै महाभियोग प्रस्ताव ल्याउन आफूसँग कुनै छलफल र परामर्श नभएको बताएका थिए । उनले सरकारबाट बाहिरने या सरकारमै रहेर संघर्ष के गर्ने भन्ने विषयमा सुझाव मागेका थिए भने पार्टी लाइनविपरितका गतिविधि गर्ने सांसदबारे के गर्ने भन्नेबारे पनि नेताहरुबाट सुझाव दिएका थिए ।

सोहि अनुसार नेताहरुबाट महाभियोग गलत भएको र पार्टी लाइनविपरितको गतिविधि गर्नेमाथि कारबाही गरिनुपर्नेमा समान धारणा आएको हो । यद्यपी सरकारबाट बाहिरिनेबारे भने फरक–फरक धारणा आएको हो ।

नेताहरुका अनुसार दिनभरको घटनाक्रम र पार्टीको हितलाई ध्यान राखेर बेलुका बस्ने बैठकले उचित निर्णय गर्नेछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment