Monday, May 8, 2017

कमैको मात्र चासोमा पर्यो दरबार हत्याकाण्ड

विश्वलाई नै आश्चर्यचकित तुल्याउने गरी विसं २०५८ जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्डका विषयमा सुरुका दिनमा जति चर्चा, आशंका र आरोपहरु लगाइयो अहिले त्यो विषय पूरै ओझेलमा परेको छ ।

तत्कालीन राजा श्री ५ वीरेन्द्रसहित उहाँको वंश नाश भएको त्यो कालो दिनपछि मुलुकको राजनीतिमा अभूतपूर्व परिवर्तन भए पनि दरबार हत्याकाण्डका विषयमा कुनै पनि सरकारले चासो देखाएनन् । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, यसवराज्ञी श्रुति, अधिराजकुमार निराजनसहित १० जनाले सो हत्याकाण्डमा ज्यान गुमाउनुपरेको थियो ।

राजनीतिक शक्ति आर्जनका लागि जति पनि आरोप जोजसलाई लगाइए ती सब मित्थ्या सावित भैसकेको अवस्थामा सिंगो मुलुकबासीलाई रिवाएको त्यो दिन बितेको पनि १३ वर्ष पुगेको छ ।

२०४६ सालको परिवर्तनपछि संवैधानिक राजाका रुपमा संवैधानिक भूमिका निर्वाह गर्दै लोकप्रियताको शिखरमा चढ्नुभएका तत्कालीन राजा वीरेन्द्र देशभक्त, राष्ट्रवादी, शान्तिवादी र जनभावनाका समर्थक भएकैले उहाँलाई आम नेपालीले अहिलेको अवस्थामा पनि उत्तिकै आदर्श मानी सम्झने गरेका छन् ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको पाँच वर्ष वितिसक्दा पनि अहिले देशको सङ्क्रमणकालीन अवस्थामा राजा वीरेन्द्रलाई स्मरण गर्ने नेपालीको संख्या झन् बढ्दै गएको छ । मुलुकका प्रजातन्त्रवादी भनिने मात्र हैन कम्युनिस्ट, क्रान्तिकारी नेता तथा कार्यकर्ताहरुले समेत स्वर्गीय राजा वीरेन्द्रलाई आदर्श, देशभक्त र प्रजातन्त्रवादी राजाका रुपमा मान्ने गरेका छन् ।

यसैबीच, स्वर्गीय राजा वीरेन्द्र र उनका अन्य परिवारको १३औँ स्मृति दिवसको अवसरमा योगी नरहरिनाथ ट्रस्ट अध्यात्मिक परिषद्ले आइतबार जावलाखेलमा रहेको स्वर्गीय राजा वीरेन्द्रको सालिक परिसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गर्यो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व एवम् सर्वसाधारणले स्वर्गीय राजा वीरेन्द्र र परिवारको तस्विरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

राजा वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते नारायणहिटी राजदरबारमा भएको थियो, भने २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा परी उहाँको स्वर्गारोहण भएको थियो । उहाँले २०२८ सालमा तत्कालीन राजा महेन्द्रको स्वर्गारोहणपछि राजगद्दी आरोहण गर्नुभएको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment