Friday, May 26, 2017

कुन उमेरमा कति घण्टा सुत्ने ?

विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता फरक–फरक हुने गर्छ। हामीहरु प्रायले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त ? अमेरिकाको नेशनल स्लीप फाउण्डेशनले हालै गरेको एक अनुसन्धानले भनेको छ – त्यो तपाईंको उमेरमा भर पर्छ।

सुत्ने नियमितताको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभावित गर्ने गर्छ। फाउण्डेशनका अनुसार व्यक्तिको निद्राको आवश्यकता उस्को जीवनशैलीमा आधारित हुने गर्छ।

तर उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ।

नवजात (०–३ महिना )–  भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।

शिशु (४–११ महिना) – यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।

वामे सर्नेहरु (१–२ बर्ष)–  यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ‌९ देखि १६ घण्टाको निद्रा हो।

विद्यालय जानु अघिका (३–५ बर्ष)– विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।

स्कुले उमेरका (६–१३ बर्ष)– अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।

किशोरकिशोरी (१४–१७ वर्ष)– किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।

युवा (१८–२५ बर्ष)– युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।

वयस्क (२६–६४ बर्ष)– यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।

बृद्ध (६५ बर्ष भन्दा माथि)– यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७(८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।

स्वस्थ निद्राको बानी

फाउण्डेशनका निद्रा विज्ञहरुले निद्रा सुधार्नका लागि केहि सुझावहरु पनि प्रकाशित गरेका छन्। उनीहरुका अनुसार निद्रालाई सबैले पहिलो प्राथमिकतामा राख्‍नु पर्छ।

तिनीहरुले दिएका केहि सुझावहरु यस्ता छन्–

सुत्ने एउटा निश्चित समय बनाउनु पर्छ र त्यस्लाई सप्ताहान्तको छुट्टीको बेलामा पनि पालना गर्नु पर्छ।

सुत्नु अघि मनमष्तिष्क शान्त हुने अभ्यास गर्नु पर्छ।

दैनिक कसरत गर्नु पर्छ।

सुत्ने कोठाको तापक्रम, त्यहां बाहिरबाट आउने आवाज र प्रकाशलाई आफू अनुकुलको राख्‍नु पर्छ।

आरामदायी विछ्यौना र तकियाको प्रयोग गर्नुपर्छ।

मदिरा र क्याफेन जस्ता निद्रा विगार्ने पदार्थहरुको सेवन गर्नु हुंदैन।

सुत्नुअघि विद्यतिय उपकरणहरु बन्द गर्नु पर्छ।

(साभार – बिबिसी नेपाली)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment