Thursday, May 25, 2017

राति बिहे अर्को दिन बिहान ‘सम्वन्धविच्छेद’, झोंकी स्थानीयले लिए बेहुलासहित जन्ती कब्जामा

काठमाडौं, १२ जेठ, बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् ।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद) गरेका थिए । मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ ।

दुलाहासहित जन्ती गाउँलेको कब्जामा

विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् । केटी आफूलाई मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ । जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ । केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए । ‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् । मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने, ‘उजुरी नआएपछि कारबाही गर्ने कुरा पनि भएन ।’ उनले स्थानीय प्रहरी चौकीलाई गाउँमा झैझगडा हुन नदिनु भनेर आफूले निर्देशन दिएको बताए । (नयाँ पत्रिका दैनिकबाट)

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment