Monday, May 22, 2017

औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत

काठमाडौँ, ८ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल औषधि उत्पादक सङ्घ र नेपाल आयुर्वेदिक औषधि उत्पादक सङ्घले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेका छन् ।

नेपाल सरकार, स्वास्थ मन्त्रालयले आत्मनिर्भर भइसकेका औषधि आयातमा रोक लगाउने निर्णय हालै गरेको थियो । हाल नेपालमा रु २० अर्बको औषधि आयात हँुदै आएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाली औषधि उद्योगलाई सरकारी नीतिले ठूलो राहत पुगेको बताउनुभयो । रुघाखोकी, आऊ, औलो ज्वरो, झाडापखला, मुटु बाथरोग एवम् अन्य ३७ प्रकारका रोगको औषधि स्वदेशमा उत्पादन हुन सक्ने भएपछि सरकारले उक्त औषधि आयातमा रोक लगाउने भएको हो ।

नेपालमा भारतबाट मात्र ५२ प्रतिशत औषधि आयात हुन्छ । भने अन्य मुलुकबाट तीन र नेपालमा ४५ प्रतिशत औषधि उत्पादन हुन्छ । स्वदेशमा उत्पादन हुने अधिकांश औषधिको कच्चापदार्थ भारतबाट आयात हुन्छ ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष शङ्कर घिमिरेले बैंकको व्याज, कर्मचारीको पारिश्रमिक, घरभाडा, कर तथा अन्य खर्च कटाएर औषधि कम्पनीले १५ प्रतिशत नाफा आर्जन गर्ने गरेको बताउनुभयो ।

उहाँले केही समय अघि पैतीस पैसामा उत्पादन गरिएका औषधि रु पाँचमा बिक्री गरी २४ सय प्रतिशत नाफा असुलेको कुरालाई समाचार माध्यमले एकपक्ष ढङ्गमा सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।

नेपालमा ५५ औषधि उत्पादक कम्पनीमध्ये ४९ वटा सञ्चालनमा आएका र त्यसमा रु २६ अर्बको लगानी एवम् वार्षिक १६ अर्बको औषधि उत्पादन हुन्छ । नेपालमा औषधि उत्पादन हुन थालेको ३५ वर्ष पुगेको छ भने सो क्षेत्रमा करिब १५ हजारले रोजगारी पाएका छन् । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment