चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ।
नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो।
भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ।
यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ।
‘एक मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन्। जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन्।’
दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ। नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ।
नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ। नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ।
नेपाल र चीनबीच जारी सैन्य अभ्यासबाट एक अर्काले विपत्तिको समयमा कसरी प्राबिधिक रुपमा काम गर्ने भन्ने अनुभव सिक्ने मौका पाएको लेखमा जनाइएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment