Monday, April 24, 2017

होसीयार पाँच सयको नक्कली नोट बजारमा छ्याप्छ्याप्ती यसरी चीन्नुहोस

११ बैशाख,पोखरा । पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ।

राष्ट्र बैंक पोखराका कामु निर्देशक बृहस्पति अधिकारीका अनुसार गत माघ १३ गतेबाट पाँच सय रुपैयाँ दरका नक्कली नोट फेला पर्न थालेका थिए। शुक्रबार र आइतबार ७–७ वटाका दरले नक्कली नोट विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा बुझाएका छन्।


‘करिब तीन महिना अवधिमा पाँच सय रुपैयाँ दरका करिब एक सय थान नक्कली नोट राष्ट्र बैंकमा आइसकेका छन,’ अधिकारीले भने, ‘सुरुमा केही दिनको अन्तरमा यस्ता नोट फेला परेका थिए। अहिले दिनहुँ आउन थालेका छन्। यतिधेरै नक्कली नोट बजारमा आउनु डरलाग्दो हो।’ चैत र वैशाखमा नक्कली नोट बढी फेला परेको उनले बताए आजको नागरिक दैनिक मा खबर छ ।

अधिकारीका अनुसार घ/२०–६७९७४६ र घ/२०–७९९७४६ सिरिजका नोट बजारमा भेटिएका छन्। ‘नक्कली नोटमा उल्लेख गरिने नम्बरमा पछिल्लो चारवटा अंक मिलेका छन्। सुरुका दुई अंक फरक रहे पनि त्यसपछिका सबै अंक मिलेका छन्,’ उनले भने, ‘भेटिएका नोट हेर्दा ठूलो संख्यामा नोट बजारमा आएको हुन सक्छ।’ केही एक हजार रुपैयाँ दरका नोट फेला परे पनि ती न्यून रहेको उनले बताए।

अधिकारीका अनुसार ठूलो संख्यामा नक्कली नोट सुरुमा पोखरामा भेटिएकाले समयमै नियन्त्रण गर्न नसके अन्यत्र पनि फैलने त्रास छ। उनका अनुसार फेला परेका नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन। त्यस्तै सुरक्षाका लागि राखिने धागो नक्कली छ। सक्कली जस्तो गुणस्तरीय कागज पनि छैन। उनका अनुसार नोट नक्कली वा सक्कली छुट्ट्याउन सर्वसाधारणलाई केही कठिनाइ हुने भए पनि बैंक तथा वित्तीय संस्थाले सहजै ठहर्‍याउन सक्छन्।

वित्तीय संस्थाले नोट नक्कली वा सक्कली छुट्ट्याउन अल्ट्रा भायोलेट लाइट भन्ने मेसिन राख्ने गर्छन्। पोखराका सबैजसो वित्तीय संस्थासँग यस्तो सक्कली र नक्कली नोट छुट्ट्याउने मेसिन छ। मेसिनले सक्कली नोट हेर्दा अंक र गभर्नरको हस्ताक्षरमा हरियो बल्छ। तर, नक्कलीमा बल्दैन। त्यस्तै नोटमा हुने सगरमाथाको तस्बिरको हिउँमा पनि मेसिनले हेर्दा हरियो बत्ती बल्छ। ‘वित्तीय संस्थाले मेसिनको प्रयोगले पनि नोट हेर्न सक्छन्। तर, सर्वसाधारण, कम पढेका वृद्धवृद्धा, हतारमा रहेका व्यक्तिलाई यस्ता नक्कली नोट दिएर गिरोहले ठग्न सक्ने उनले बताए। पर्यटकीय क्षेत्र भएकाले पनि गिरोहले पोखरामा नक्कली नोट भिœयाएको हुन सक्ने उनको अनुमान छ।

‘सर्वसाधारणले पनि कागजको गुणस्तर, धागो, पानी छाप हेरेर नोट सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सक्छन्,’ अधिकारीले भने, ‘त्यसका लागि सचेतना फैलाउनु जरुरी छ। हामीले सञ्चारमाध्यम र वित्तीय संस्थामार्फत सर्वसाधारणलाई सचेत गराइरहेका छौं।’ सहकारीमार्फत बैंकमा नक्कली नोट बढी मात्रामा पुगेका छन्। दैनिक बचतमार्फत नक्कली नोट बजारमा आउन सक्ने उनले बताए।

उनका अनुसार वृद्धवृद्धा, रातको समयमा, तरकारी बजार, सार्वजनिक सवारीमार्फत यस्ता नक्कली नोट बढी मात्रामा बजारमा आउने सम्भावना हुन्छ। ‘ठूलै गिरोह यसमा लाग्न सक्छ। गिरोह पत्ता लगाउन नसके यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ,’ उनले भने, ‘प्रहरीलाई पनि यसबारेमा हामीले खबर गरेका छौं।’

नक्कली नोट भित्रिन नदिन राष्ट्र बैंकले वित्तीय संस्थालाई पाँच सय रुपैयाँको नोट मेसिनको साटो हातैले गन्न आग्रह पनि गरेको छ। मेसिनले गन्दा नोट पत्ता लगाउन मुस्किल हुने गरेको छ। ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विश्वमोहन अधिकारीले ओममा सातवटा नक्कली नोट आएको बताए।

‘चारैतिर छरिएर नक्कली नोट आएको हामीले अनुमान गरेका छौं। सहकारीमार्फत बढी जसो बैंकिङ प्रणालीमा भित्रिएका छन्,’ उनले भने, ‘नक्कली र सक्कली छुट्ट्याउन नसक्ने व्यक्तिमार्फत नोट बजारमा आएका हुन सक्छन्। सबैतिर सचेतना जरुरी छ।’ उनका अनुसार बजारमा भेटिएको नक्कली नोट धेरै पुराना छैनन्। ‘जो कोहीले छुट्ट्याउन नसक्ने गरी नोटको स्वरुप पुरानो पारिएको छ,’ उनले भने।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment