Saturday, April 22, 2017

यसरी पाउन सकिन्छ धूम्रपानबाट छुटकारा ! धूम्रपान गर्ने साथीलाई ट्याग गरौँ अथवा सेयर गरौँ

प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ वीर हस्पिटल

एकपटक धूम्रपानको लत लागिसकेपछि त्यसबाट छुटकारा पाउन कठिन हुन्छ । चुरोट, सुर्तीमा हुने निकोटिनले पनि धूम्रपानको लत छुटाउन मुस्किल बनाउने गर्छ । सोही कारण आफूलाई गलत लत लागेको थाहा हुँदाहुँदै पनि धूम्रपान त्याग्न धेरैलाई गाह्रो हुन्छ । तर, इच्छाशक्ति भएमा लागुपदार्थ सेवन त्याग्न नसकिने होइन ।

सोही शक्तिले धेरै अम्मलीहरूले धूम्रपान त्यागेका पनि छन् । धूम्रपानको हानिकारक असरबाट जोगिन सुर्तीसेवन त्याग्नु अनिवार्य नै छ । केही व्यक्तिहरूले सुर्तीसेवन घटाएँ भनेर मख्ख पर्छन् । तर चुरोट, सुर्तीसेवनको मात्रा घटाएर मात्र पुग्दैन, पूर्ण रूपले त्याग्नु अनिवार्य छ । धूम्रपान गर्ने व्यक्तिको शारीरिक र मानसिक सन्तुलन शरीरभित्रको निकोटिनको मात्रामा निर्भर भइरहेको हुन्छ ।

निकोटिन कम भयो कि शारीरिक र मानसिक असन्तुलन हुन सक्छ । जसले गर्दा धूम्रपान छोड्नेबित्तिकै २४ देखि ४८ घन्टाभित्र छटपटी र औडाहा हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् । तर, धूम्रपान त्याग गरेपछि प्राप्त हुने लाभका बारेमा जानकारी हुँदा यसलाई स्वीकार गर्न गाह्रो हुँदैन । धूम्रपान त्याग्नका लागि अपनाउन सकिने केही उपायबारे वीर हस्पिटलका मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीका सुझाब यस्ता छन् :

धूम्रपान त्याग्न सर्वप्रथम जो–कोही पनि मानसिक रूपले तयार हुनुपर्छ । आफूले विश्वास गर्ने भगवान् या व्यक्तिलाई सम्झेर चुरोट त्याग्ने प्रतिज्ञा गर्दा पनि हुन्छ । चुरोट त्याग्न आत्माबल प्राप्त होस् भनी प्रार्थना गर्नुपर्छ । चुरोट त्याग्न सबैभन्दा महत्वपूर्ण नै दृढता र आत्मबल जुटाउने कार्य हो ।

धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । विज्ञहरूसँग सल्लाह लिने तथा आवश्यक अध्ययन गर्न सकिन्छ । धूम्रपान त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

पानी धेरै पिउने बानी विकास गर्नुपर्छ । त्यसैले पानीको भाँडो नजिकै राख्ने र छटपटी लाग्यो भने पानी पिउने गर्नुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ ।

ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।

केही गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । धूम्रपान छुटाउन सहयोग पुग्ने औषधिको सेवन दैनिक एक महिनासम्म गर्दा पनि फाइदा हुन्छ ।

तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ । मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान या बेलुकाको समयमा प्राणायाम र ध्यान गर्न सकिन्छ । हरेक दिन प्रभातफेरी गर्दा पनि मनमा शान्ति मिल्छ । आफूलाई व्यस्त बनाउने तथा धूम्रपान गर्ने साथीहरूबाट टाढा बस्दा पनि धूम्रपान त्याग्न सजिलो हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment