नेपालको पछिल्लो कानून र सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्नुु अपराध हो । यो गल्तीलाई कानूनले फौजदारी सोसरहको अपराध मानेको छ । एकातिर राष्ट्रबैंक नोट सफा राख्ने योजनामा लाखौं बजेट खर्च गर्दै सचेतना अभियान चलाइरहेको छ भने कानूनमा समेत सख्त कारबाही हुने व्यवस्था छ । तर, कांग्रेस सभापति देउवाले भने ललितपुरका नवनिर्वाचित मेयर चिरिबाबुु महर्जनलाई बाजी हारेको भन्दै एकहजारको नेपाली नोटमा आफ्नो हस्ताक्षर गरेर उपहार दिएका छन् । राष्ट्रबैंकसँग सम्बन्धित कानूनले नोटमा लेख्न वा कसैको हस्ताक्षर गर्न मिल्दैन, देउवाले थाहै नपाई त्यही अपराध गरेका छन् ।
देउवाले कोरेको(हस्ताक्षर) गरेको एकहजारको नोटको नम्बर ३१९८३९ हो । गभर्नर युवराज खतिवडाले हस्ताक्षर गरेको नोटको दायाँ पट्टिको खाली सेतो भागमा देउवाले हस्ताक्षर गरेका प्रष्ट देखिन्छ ।
के भएको हो ?
ललितपुर महानगरको मेयरको टिकट दिने क्रममा पार्टी सभापति शेरबहादुर देउवा र चिरिबाबुु महर्जनबीच बाजी परेको रहेछ । शेरबहादुर देउवाले तपाईले जित्नुुहुन्छ त ? भनेर पटक–पटक प्रश्न गरेपछि महर्जनले सहजै जित्ने, नजिते आफूले देउवालाई एकलाख रुपैयाँ तिर्ने बाजी मारेका रहेछन् । यदि आफूले ललितपुरको मेयर जितेमा चाहि देउवाले १ सय रुपैयाँ बाजी हारेको रुपमा महर्जनलाई तिर्नुपर्ने शर्त रहेछ । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित बधाई कार्यक्रममा देउवाको समेत सहभागिता थियो । चिरिबाबुुलाई देखेपछि देउवाले आफ्नो कोटको खल्ती छामेका र सो क्रममा एकसय रुपैयाँका नोट नभेटेपछि १ हजारको नोट निकालेर त्यसमा हस्ताक्षर गरी(कोरेर) चिरिबाबुुलाई दिएका थिए । देउवाले हस्ताक्षर गरी एकहजारको नोट दिएपछि खुशी देखिएका ललितपुरका नवनिर्वाचित मेयर चिरिबाबुु महर्जनले नोट देखाउँदै भनेका छन्–‘उहाँले मसँग एकसय रुपैयाँ बाजी हार्नुभएको थियो । तर ९ सय बढी, अर्थात एकहजार दिनुुभयो । पहिला त गोजीमा राखेँ, पछि निकालेर हेरेको त हस्ताक्षर भएको एकहजारको नोट दिनुुभएको रहेछ ।’
देउवाले हस्ताक्षर गरी दिएको एकहजारको नोट देखाउँदै चिरिबाबुु महर्जन ।
फोटो स्रोत : लोकान्तर
महर्जनको यो बयान र नोटमा देखिएको हस्ताक्षरले समेत देउवाले फौजदारी सोसरहको अपराध गरेको पुष्टि हुन्छ ।
के भन्छ राष्ट्रबैंक ?
नेपाल राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले नोटमा गभर्नर बाहेक अरुले हस्ताक्षर गर्न नपाइने प्रष्ट पारे । कसैले केरमेट गरे, हस्ताक्षर गरे, स्टीच लगाए, च्याते सो कामलाई कानूनले अपराध सोसरह परिभाषित गरेको छ । मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने व्यवस्था छ। उपदफा २ र ३ मा यसको प्रष्ट व्यवस्था छ । उपदफा २ मा लेखिएको छः कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन। उपदफा ३ मा त्यसो गर्नेलाई सजायको व्यवस्था महल अन्तर्गत भनिएको छः तीन महिनासम्म कैद र पाँच हजार रुपैयासम्म जरिवाना वा दुवै हुने ।
नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले नोटमा केरमेट गर्न नपाइने उल्लेख गर्दै भने–‘नेपाल राष्ट्रबैंक नोट सट्टाभर्ना नियमावलीमा पनि अंगभंग गरिएका, लेखिएका, केरमेट गरिएका, मेटिएकाको नोटको भुक्तानी दिन राष्ट्रबैंक बाध्य हुने छैन भन्ने लेखिएको छ ।’
नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ। पछिल्लो पटक राष्ट्र बैँकले सबै बैँक र वित्तीय संस्थाहरुलाई नोटको बण्डलमा स्टिच नगर्न निर्देशन दिएको थियो। त्यसअघि सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो। तर, सरकारको नेतृत्व गर्न हतारिएका देउवाबाटै त्यो गल्ती भएको छ ।
यसकारण नकोरौं नोटमा
सफा र गुणस्तरयुक्त नोट प्रयोग गर्न पाउनु सबैको अधिकार हो । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा बैङ्क नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । नोट सभ्यताको प्रतीक पनि हो । नोटले विश्वमा राष्ट्रको पहिचान कायम गर्न मद्दत गरेको हुन्छ । नेपाली नोट नेपालको पहिचान पनि भएको हुँदा सबैले सुरक्षित साथ सफा नोट प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्छ । राष्ट्र बैङ्कले च्यातिएको, मेटिएको वा झुत्रिएको नोट पुनः निष्कासन गर्दैन । सभ्य नागरिकले नोटलाई झुत्रोमैलो बनाई, च्याती यसको आयु घटाई राष्ट्रलाई आर्थिक व्यय भार पुर्याउने कार्य अशोभनीय हुन्छ । अझ देश हाँक्नेहरुले नै यो गल्ती गर्नु त लज्जाको बिषय हो ।bizshala
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment