Monday, May 29, 2017

कांग्रेस प्रवेश गर्दै गच्छदार, महामन्त्री बनाउन देउवा तयार

काठमाडौं, जेठ १५ । फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार अहिलेसम्म सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेताको रुपमा पनि उनलाई चिनिन्छ । गच्छदार ब्यक्तिगत फाइदाकै लागि धेरै पटक सरकारमा गएको भनी उनकै निकटस्थ नेता समेत टिप्पणी गर्छन् ।

 पछिल्लो पटक सरकारमा प्रवेश गर्ने गच्छदारको शैलीले पनि फेरि आलोचित बनायो । स्थानीय तहको निर्वाचनबारे फरक मत राख्दैआएका उनी उपप्रधान तथा स्थानीय विकास मन्त्री पद पाएपछि नै सरकारमा गए र मौन रहे ।

 नेपाली कांग्रेसको राजनीतिबाट उठेका गच्छदार तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै फोरम लोकतान्त्रिकको नेता बने । यसबीचमा उनले गरेका विभिन्न राजनीतिक तालमेल र एकताले पनि पदलोलूप रहेको प्रमाणित गरेका छन् ।

 कांग्रेसमा जाने तयारी

 गच्छदार सरकारमा जानुको एउटा मुख्य कारण के भने, पछिल्लो समय मधेसमा उनले आफ्नो साख गुमाउँदैआएका छन् । मधेसका जनताले उनलाई आगामी निर्वाचनमा हराइदिनसक्ने संकेत देखेपछि नै उनी सुरक्षित बाटोको खोजीमा लागेको उनी निकट स्रोत बताउँछ ।

 तर सरकारको अवधिपछि पनि सांगठनिक रुपमा सुरक्षित हुन गच्छदारले अर्को उपाय रोजेका छन् । त्यो हो कांग्रेस प्रवेश । मधेसमा बलियो मानिने पुरानो शक्ति नेपाली कांग्रेसमा सुरक्षित भएर रहन गच्छदाले पहल थालेका छन् ।

 यसका लागि नेपाली कांग्रेसका नेताहरुसँग उनले पछिल्लो केही सातायता त्यस्तो पहल थालेका हुन् । त्यसो त कांग्रेसमा छँदा शेरबहादुर देउवा निकट मानिने गच्छदार फेरि देउवासँग एउटै पार्टीमा बस्न तयार देखिएका हुन् ।

 अनौठो त यो छ की, गच्छदार कांग्रेसमा महामन्त्री पदको लागि लवी गरिरहेका छन् । कांग्रेस उच्च स्रोतका अनुसार पछिल्लो समय विमलेन्द्र निधिसँग चिढिएका देउवा पनि गच्छदारलाई महामन्त्रीको रुपमा कांग्रेसमा भित्र्याउन तयार देखिएका छन् । ‘कसरी ल्याउने अनुकुल वातावरण मात्रै हेर्नुभएको छ,’ कांग्रेसका एक नेताले भने, ‘मनोनित महामन्त्रीको रुपमा कांग्रेसमा ल्याउने तयारी देउवाजीको छ ।’

 निधि टाढिए देउवासँग

 गच्छदारलाई भित्र्याउने देउवाको तयारी देखेकै कारण पनि मधेसका नेता विमलेन्द्र निधि देउवासँग रुष्ट बनेको बुझिएको छ । कांग्रेसका एक नेताले नाम नबताउने शर्तमा भने, ‘गच्छदार सम्भवतः चुनावपछि नै कांग्रेसमा आउँछन् ।’

 निधि र गच्छदार एउटै भूगोलका नेता भएकै करण पनि अहिलेदेखि नै टसल देखिन थालेको छ । खासगरी कांग्रेस सभापति देउवाले पछिल्लो समय गच्छदारलाई पार्टीमा महत्वपूर्ण भुमिकासहित प्रवश गराउने देखेपछि नै पछिल्लो समय निधि टाढिएको स्रोत बताउँछ ।

 देउवा भने गच्छदारलाई पहिलेदेखि नै विश्वास गर्दैआएका थिए । गिरिजा प्रसाद कोइरालाको नेतृत्वकालमा शेरबहादुर देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएपछि पनि गच्छदार उनीसँगै थिए । प्रजातान्त्रिक र कांग्रेस एकतापछि मधेस केन्द्रित दलमा पुगेका गच्छदार फेरि पुरानै पार्टी फर्किएर सुरक्षित रहने उपाय खोज्न थालेका हुन् । निधिलाई भने गच्छदारको कांग्रेस प्रवेशले असर पार्ने पक्कापक्की देखिएको छ । यही कारण पनि उनी कांग्रेसभित्र फरक ढंगको ‘गुट’ निर्माणमा आकर्षित बनेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment