Wednesday, May 17, 2017

भारतले चुनावमा जान भनेपछि मधेसी मोर्चाले भन्यो ‘धोका भयो’

काठमाण्डु, ३ जेठ – काठमाण्डुस्थित भारतीय कुटनीतिज्ञहरुले मधेसी दलहरुलाई आफ्ना मागहरु थाँती राखेर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन सुझाव दिएका छन् ।

नेपालमा जारी भएको नयाँ संविधानप्रति असन्तुष्टी व्यक्त गरेको भारतले मधेसी दलहरुलाई दिएको दबाबपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुनसक्ने अनुमान गरिएको छ । भारतले संविधानको सर्वस्विकार्यताका विषयमा पुरानै नीति कायम रहेको जनाएको छ । तर तत्कालका लागि निर्वाचनमा माग लिन मधेसी दलहरुलाई आग्रह गरेको छ ।

काठमाण्डुस्थित भारतीय दूतावासमा भएको यस्तो छलफलमा ुउच्चस्तरीय भारतीय कुटनीतिज्ञहरुको टोलीुले यस्तो सल्लाह दिएको मधेसी नेताहरुले बताएका छन् । मधेसी दलका नेताहरुले दिल्लीको यस कदमपछि स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

‘विगत डेढ वर्षयता हामीले राख्दै आएको संविधान संशोधनको मागमा भारत सहमत थियो । अहिले यही संवैधानिक दायराभित्र बसेर हामी निर्वाचनमा सहभागी हुन असंभव छ । तर नयाँ राजदूत आएपछि हामीलाई हाम्रा एजेन्डा छाड्न भनिएको छ,’ राष्ट्रिय जनता दलका एक वरिष्ठ नेताको भनाइ उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ ।
गत मार्चमा मन्जिव सिंह पुरा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए । मधेस केन्द्रित दलका अर्का एक नेताले पनि भारतले निर्वाचनमा सहभागी हुन सुझाव दिएको हिन्दूस्तान टाइम्सको समाचारमा उल्लेख छ । ‘यस सुझावले पछिल्ला २ वर्ष भारतले लिएको लाइन र हामीले लिएको लाइन दुबै गलत भन्ने कुरा देखियो । हामी कसरी मान्न सक्छौं ? हाम्रो कुनै नैतिक धरातल बाँकी रहदैंन,’ नाम नछाप्ने शर्तमा ती नेताले भनेका छन्,’यो दबाबले तराइमा भारत विरोधी भावना फैलाउँछ। जनताहरुले दिल्लीले हामीलाई तल पार्न खोजेको महसुस गर्नेछन्,’ उनले भनेका छन् ।
भारतले नेपालको संविधानमा परिवर्तन चाहेको कुरा बेला–बेलामा अभिव्यक्त गर्ने गरेको छ। त्यसका लागि मधेस केन्द्रित दलसहित सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गर्न नेपालका नेताहरुलाई भारतीय नेताहरुले सुझाव दिदैं आएका छन् । केपी ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी गरेपछि नेपाल–भारतबीचको सम्बन्ध निकै खराब स्थितिमा पुगेको थियो । तर पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि दुई देशबीचको सम्बन्ध सुधारको दिशामा देखिएको छ । एजेन्सी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment