Monday, May 1, 2017

राजनीतिमा नयाँ धु्रवीकरणः ज्ञानेन्द्र, ओली र लोहनी एकै ठाउँमा, ज्ञानेन्द्र राप्रपा फुटाउनतिर

काठमाडौं । नेपाली राजनीतिमा आइतबारको माहोल यसरी परिवर्तन भयो कि मानौं हरेक कुरा नसोचेको भयो । त्यही नसोचेको तर शंकापूर्ण भेट एमाले अध्यक्ष केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाह र नयाँ पार्टी खोलेका राजाबादी डा. प्रकाशचन्द्र लोहनीबीच भएको हो ।

राजधानीको बुढानीलकण्ठस्थित एक गोप्य स्थानमा भएको भेटले केपी ओलीले पछिल्लो समय देखाएको बेइमानी पनि छताछुल्ल भएको छ । उनले विभिन्न बहाना गर्दै संविधान संशोधन गराउन नदिने र चुनाव पनि हुन नदिने प्रपञ्च रचेका थिए ।

शनिबार नेपाली काँग्रेसका नेताहरु ओलीलाई भेट्न उनकै निवास बालकोट जाँदासमेत सहमति भन्दा कसरी असमझदारी बढाउन सकिन्छ भन्ने किसिमका अभिव्यक्ति दिएर ओलीले संविधान र चुनावको विपरित धारामा बगेको संकेत दिएका थिए ।


‘संविधान संशोधन गर्न नदिएर र चुनाव हुने वातावरण बनाउन नदिएर तपाई भोलि के गर्नुहुन्छ त ?’ भन्ने काँग्रेस नेताहरुको प्रश्नमा ‘तपाईहरु हेर्दै जानुस् न’ भनेका ओली एक्कासी बुढानीलकण्ठमा ज्ञानेन्द्र शाह र प्रकाशचन्द्र लोहनीसंग गोप्यवार्तामा भेटिनुलाई पहिलेदेखिकै चलखेल भएको रुपमा बुझ्न थालिएको छ ।

के छ तीन जनाको प्लान ?

बुढानीलकण्ठ वार्ता निकै सकारात्मक भएको स्रोतले दाबी गरेको छ । स्रोतले नेपालमा पुनः राजतन्त्र फर्काउन ओली निकै नै सकारात्मक रहेको दाबी गरेको हो । यसकै गेमप्लान अनुसार राजतन्त्रको स्वार्थपूर्ण वकालत गर्दै आएका राप्रपा अध्यक्ष कमल थापाको पार्टीलाईसमेत झड्का दिंदै एक दर्जनबढी सांसद लोहनीको दलमा जाँदैछन् ।
थापाले त ज्ञानेन्द्रले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको आरोपसमेत लगाएका छन् । राजतन्त्रको वकालत गर्दै स्वार्थपूर्ण राजनीति गरेका कमल थापा अवसरवादी हुन् भन्ने आँकलन गर्दै ज्ञानेन्द्रले लोहनीलाई साथ दिएका हुन् ।
ओली पनि काँग्रेस र माओवादीसंग साँठगाँठ गर्नुभन्दा ज्ञानेन्द्रसंगै साँठगाँठ गर्दा सुरक्षित भइने नियतले साथ दिइरहेको बताइन्छ ।
एमालेका नेताहरुले सोमबार बिहान निर्मल निवासमै पूर्व राजासंग भेटवार्ता गरेको स्रोतको भनाइ छ ।

ओलीको कदम रोक्न महाअभियोग !
केपी ओलीले काँग्रेस र माओवादीका नेताहरुलाई जेलमा कोच्न पाए आफू सदावहार सत्ताको मालिक हुने र राजसंस्थाले सधै आफूलाई नै चुनिरहने मनोकांक्षा बोकेकै कारण उनले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रयोग गरेको स्रोतको दाबी छ ।
स्रोत भन्छ, ‘जब मुख्य पार्टीका प्रमुखलाई नै विभिन्न आरोपमा जेल हाल्न सकियो भने त्यही अस्थिरताको बहानामा राजसंस्था ब्यूँताउने र सरकारको चाबी सधैका लागि आफूले सुरक्षित राख्ने उद्धेश्य ओलीले बोकेका हुन् ।’

ओलीको यही शंकास्पद र आफूहरुलाई फसाउने षडयन्त्र थाहा पाएरै काँग्रेस र माओवादीले गणतन्त्र सुरक्षित राख्न पनि महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेको बताइएको छ । कार्कीमार्फत ओलीले काँग्रेस माओवादी ध्वस्त पार्न प्रपञ्च रचिरहेका थिए ।

एक्लिए कमल थापा
हुनत कमल थापाले राजसंस्थाको नाममा आफ्नो पार्टीमात्र फस्टाएनन् मुख्य पदमा सधै रहिरहे । शाहीकालका गृहमन्त्री लोकतन्त्र आएपछि पनि उपप्रधानमन्त्री भए । उनले संविधानसभाको चुनावमा ‘एक भोट दाइलाई एक भोट गाईलाई’ भन्दै समानुपातिकमा २५ सिट बटुलेका थिए । जबकि उनले प्रत्यक्षतर्फ एक सिट पनि ल्याउन सकेनन् ।

अब दाइ र भाइको सम्बन्ध नराम्ररी तोडिएको छ । काँग्रेसलाई प्रत्यक्षमा भोट दिने मतदाताले अब थापाको हैसियत थाहा पाएकाले भोट दिने छैनन् ।

त्यस्तै एमालेका धार्मिक आस्थावानले पनि समानुपातिकमा हिन्दू र राजसंस्थाको नाममा भोट हाले । तर अवसरवादी कमल थापा कहिल्यै सुध्रिएनन् ।
त्यसो त कमल थापा र केपी ओलीको अपवित्र गठबन्धन पहिलेदेखि कै हो । त्यसैले पनि ओली महत्वपूर्ण पदमा भएका बेलामा कमल थापाले अवसर पाए ।

तर कमल थापा अहिले प्रचण्ड सरकारमा गएपछि ओलीले पनि आन्तरिक रणनीति बनाए ।
लोहनीजस्ता नेताहरुलाई बाइपास गर्दै जसरी कमल थापा अगाडि बढेका थिए त्यसले नै उनी एक्लिनुको कारण बनेको छ ।

राजावादीहरु के चाहन्छन् ?
राजसंस्थासंग आस्था राख्ने पूर्व राजावादीहरु कमल थापाको हैसियतप्रति स्पष्ट छन् । त्यसैले पनि उनीहरुले लोहनीलाई साथ दिएका छन् ।

पूर्व राजाका नाति हृदयेन्द्रको ब्रतबन्धको पार्टीमा पूर्व राजावादीहरु ऐक्यवद्ध हुँदै लोहनीको पक्षमा लाग्नुपर्नेमा जोड दिइरहेका थिए ।
सो पार्टीमा उपप्रधानमन्त्रीको झण्डा हल्लाउँदै कमल थापा गए पनि पूर्वराजा ज्ञानेन्द्रसमेतले खासै चासो दिएका थिएनन् ।
कमल थापा पाँच–सात मिटर टाढा रहेर ज्ञानेन्द्रलाईमात्र नियालिरहे पनि ज्ञानेन्द्रले उनीसंग कुराकानी गर्न इच्छा देखाइरहेका थिएनन् ।
यसबाटै पनि ज्ञानेन्द्रको दूरी बढेको स्पष्ट हुन्थ्यो । राजावादीहरु पनि कमल थापासंग कुराकानी गरिरहेका थिएनन् ।


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment