स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।गाउँभन्दा मतदान केन्द्र धेरै टाढा छ। भोट हाल्न भ्याउँदिन कि भनेर अघिल्लै दिन आएँ,’ शनिबार अपराह्न लापा मावि मतदान केन्द्र नजिकै भेटिएकी नेवेरकी मंगलीमाया तामाङले भनिन्। मंगलीमाया उमेरले ७८ वर्ष लागिन्। नेवेरबाट दुई दिन लगाएर भोट हाल्नकै लागि लापा मावि केन्द्रमा आइपुगेको उनले बताइन्।
‘२८ गते भात खाएर घरबाट हिँडेकी थिएँ। २९ गते कपुरगाउँमा बास बसें। ३० गते त यहाँ (मतदान केन्द्र) आइपुगें,’ मंगलीमायाले भनिन्, ‘आफन्त नै उठेका छन्, जसरी नि जानु पर्छ भने, त्यसैले आएँ। भोलि (३१ गते आइतबार) भोट हालेर हिँडिहाल्छु।’ आफूभन्दा एक दिनपछि २९ गते घरबाट हिँडेका गाउँलेहरू बाटोमा आउँदै गरेको उनले सुनाइन्। नेवेरका उर्गेन तामाङ पनि भोट हाल्न शनिबारै मतदान केन्द्र आइपुगेका छन्।
‘२०४६ सालदेखि सबै चुनावमा भोट हालेको छु, यसपटक छुट्ला कि भनेर अघिल्लै दिन भोट हाल्ने ठाउँमा आएँ,’ उनले भने। उत्तरी धादिङमा पर्ने रुबीभ्याली गाउँपालिकाको नेवेर गाउँ पहाडबीचमा छ। गाउँबाट मतदान केन्द्र सदाचेतस्थित लापा मावि आइपुग्न भीरको बाटो एक दिन हिँड्नुपर्छ। युवालाई एक दिन लागे पनि वृद्धवृद्धालाई मतदान केन्द्र पुग्न दुई दिन लाग्ने स्थानीय तिसमान तामाङले बताए।
‘ठिटाठिटी अलि चाँडै एकै दिनमा पुग्छन्, हिँड्न नसक्ने बूढापाका, बास बस्दै जान्छन्,’ नेवेरका घनबहादुर तामाङले भने, ‘गाविस त हटेर वडा भयो तर हाम्रो समस्या हटेन, अहिले जितेर आउने प्रतिनिधिले हाम्रो समस्या बुझिदेलान भन्ने आशा छ।’ यसअघिका निर्वाचनमा पनि अघिल्लै दिन नै मतदान केन्द्र पुगेर भोलिपल्ट भोट खसालेको उनको अनुभव छ। ६३ घरधुरी रहेको नेवेरमा भूकम्पपछि त्यो संख्या घटेर ४६ भएको छ।
सो गाउँबाट विस्थापित भएर सदरमुकाम आसपासका शिविर, सल्यानटार र ढोलाको शिविरमा बसिरहेका पनि शनिबारै मतदान केन्द्र पुगिसकेका छन्। अघिल्ला निर्वाचनमा पनि नेवेरवासीले मतदान केन्द्र नजिक पारिदिन आग्रह गरेका थिए। नेवेर मात्रै होइन लापाको तेन्चेत, तिङ्चेत, कचेत, छुम्राङ, चपाङचेतलगायत बस्तीका मतदाता पनि शनिबारै मतदान केन्द्र आइपुगेका छन्। आइतबार भोट खसाल्न शनिबारै मतदान केन्द्र आसपास रहेका आफन्तका घरमा आएर बसेको तेन्चेतका अमन तामाङले बताए।
साबिकको लापा, तिप्लिङ र सेर्तुङ गाविस मिलाएर रुबीभ्याली गाउँपालिका बनाइएको छ। यो गाउँपालिका जिल्लाकै दुर्गम हो। रुबिभ्याली गाउँपालिकामा ८ वटा मतदान केन्द्र छन्। प्रायः मतदाता शनिबारै मतदान केन्द्र आसपास रहेका आफन्तको घर पुगेर बसेको सामाजिक अगुवा शिलास तामाङले बताए। केन्द्र टाढा भए पनि मतदानका लागि मतदाता उत्साहित भएको उनले बताए। आजको नागरिक दैनिकमा खबर छ । ‘
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment