Monday, May 29, 2017

भरतपुरका निर्वाचन अधिकृत भन्छन “हामीलाई नै ज्यान जोगाउन मुस्किल भयो”

काठमाण्डौ जेठ १५ – भरतपुर महानगरपालिकाको मतगणना आइतबार मध्यरातदेखि स्थगित भएको छ। २९ वडा रहेको भरतपुरको वडानम्बर १९ को मतगणना चलिरहँदा राति विवाद भएर मतगणना रोकिएको हो।
भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले राति पौने १२ बजेसम्म सामान्य रुपले मतगणना चलिरहेको तर अचानक एक मिनेटभित्र मतगणनास्थल रणभूमि परिणत भएको बताए।

‘राति पौने १२ बजेतिर म बाथरुम जान भनी उठें, त्यतिञ्जेल सामान्य रुपले मतणना भइरहेको थियो’, न्यौपानेले टेलिफोनमा सेतोपाटीसँग भने, ‘म बाथरुम नपुग्दै मतगणनास्थल रणभूमिमा परिणत भयो। एक मिनेटभित्रै सबैथोक भइसकेकाले कसले के गर्यो भन्ने मेसो पाइएन, हामीलाई नै ज्यान जोगाउन मुस्किल भयो।’
आइतबार साँझ वडा नम्बर १९ को मतगणना सुरु गरिएको थियो। २८ सय मत खसेको सो वडामा राति पौने १२ बजेसम्म करिब १८ सय मतणना भएर नतिजा सार्वजनिक भइसकेको थियो। त्यतिञ्जेल मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली कांग्रेस र माअोवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहाल भन्दा ७ सय ३३ मतले अगाडि थिए। न्यौपानेका अनुसार थप ४०० मत पत्र पनि गणना भइसकेको थियो तर त्यसको नतिजा सार्वजनिक भइसकेको थिएन।

यसअघि २७ वटा वडाको मतगणना सकिदाँ मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए।
निर्वाचन अधिकृत न्यौपानेले एकाएक के भएर मतगणना स्थलमा रणभूमिमा परिणत भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए। ‘आफ्नै ज्यान जोगाउन मुस्किल भएको बेला कसले के गर्यो भनेर कसरी किटान गर्नु?’ उनले भने, ‘कति मत पत्र च्यातियो भन्ने कुरा पनि हामीले एकिन गर्न सकेका छैनौं।’

मतगणनास्थल रणभूमि भए कसैलाई चोटपटक लागेको होला नि भन्ने प्रश्नमा न्यौपाने बाहिर रहेका सुरक्षाकर्मी भित्र गएर स्थिति सम्हालेको तर कसैलाई चोटपटक लागेको बारे आफूलाई जानकारी नभएको बताए।
उनले बाँकी रहेका मत पत्रसहित मतगणना स्थल सिल गरेर राखिएको र त्यसको प्रतिवेदन निर्वाचन आयोगमा पठाइसकिएको जानकारी दिए। ‘के के भएको छ, हामीले हेर्न सक्ने अवस्था छैन, हामीले प्रतिवेदन बनाएर आयोगलाई पठाइदिएका छौं’, न्यौपानेले भने, ‘आयोगले जे निर्णय गरेर पठाउँछ, त्यही अनुसार हुन्छ अहिले मतगणनास्थलमा गएर सिल खोल्न अवस्था नभएकाले म क्वाटर आइसकेको छु।’

साभार :-सेतोपाटी

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment