Monday, May 29, 2017

घर चलाउने खर्चका लागि खाडीमा बसेका दिदीबहिनीले यौवन मारेर बसेको तथ्याङ्क कसले राखेको छ ?

सिर्जना बस्नेत/रामेछाप ।
स्नेहा (नाम परिवर्तन) जापनामा पढेर फर्किएकी हुन् । यही वैशाखमा उनको विहे हुने पक्का भएको छ । हुनेवाला श्रीमान् बैंकका जागिरे हुन । घर तिरका आफन्त खुसी छन् । देश विदेश घुमेकी केटी बुहारी भएर आउदै छिन भनेर । दुवै पट्टि घरमा विहेको चहलपहल बढ्दै छ ।

रमेश (नाम परिवर्तन) युएईमा दुई वर्ष काम गरेर नेपाल आएका छन् । उनको पनि वैशाखमा नै विहेको टुंगो लागेको छ । उनी छुट्टिमा आएका हुन् । विहे लगत्तै फेरि उनी विदेश नै जादै छन् ।

रमेशसँग विवाह हुन लागेको केटीले १२ कक्षाको परीक्षा दिएर बसेकी हुन । रमेशले भने टेस्ट मात्र पास गरेका हुन् । केटीका बाआमा विदेशमा गएर पैसा कमाएको ज्वाईं पाएकामा खुसी छन् । यता रमेशको घरमा पनि पढेलेखेकी बुहारी आउने पक्का भएपछि सबैजना मख्ख छन् ।

सरिता (नाम परिवर्तन) कुवेतमा तीन वर्ष काम गरेर फर्केकी हुन । विहे गर्ने योजना विदेशमा नै बनाएर उनी नेपाल आएकी हुन् । ८ कक्षा पास गरेकी सरिताको रुपरंग पनि राम्रै छ । उनलाई विवाहका लागि हात माग्न पनि धेरै आए । तर कुरो मिलेन । सबै कुरा राम्रो लागे पनि उनी विदेशबाट फर्केको भनेपछि सबै त्यसै फर्किएका हुन् ।

यी तीन वटा घटना वास्तविक हुन् । हाम्रो समाजमा अझै पनि खाडीबाट फर्केका महिलाको विहेको सवालमा ठूलै बहस चल्छ । खाडीमै परिश्रम गरेर फर्केका पुरुषलाई श्रीमान् वा ज्वाईं बनाउन पाउँदा सौभाग्य ठानिन्छ ।

त्यही समाजका महिला खाडीमा काम गरेर फर्किंदा चरित्रसँग जोडेर हेर्ने गरिन्छ । पढाइ होस् अथवा रोजगारीकै सिलसिलामा युरोप, अमेरिकाका देशहरुका साथै जापान र अष्ट्रेलियाबाट फर्केकालाई भने त्यसरी हेर्ने गरेको पाइन्न ।

वैदेशिक रोजागारीका लागि खाडीका देशहरुमा परिश्रम गर्न जानु पर्ने धेरै महिलाका बाध्यता हो । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७२∕७३ को तथ्याङ्क अनुसार चार लाख १८ हजार सात सय १३ जा वैधानिक रुपमा विदेश गएका थिए । तीमध्ये १९ हजार भन्दा धेरै महिला रोजगारीका लागि विदेश पुगेका थिए ।

बाध्यतामा विदेशिएका महिलाको उमेर ढल्किदा पनि किन विहे हुँदैन

अर्कातिर अवैधानिक रुपमा रुपमा भारतको बाटो हुँदै र सेटिङ मार्फत अर्थात भिजिट भिसामा जाने महिला कामदारको संख्या पनि कम छैन् । नेपालबाट धनुषा, झापा, सिराहा, महोत्तरी, नवलपरासी, सप्तरी, सर्लाही, सुनसरी, दाङ र धादिङ जिल्लाबाट धेरै युवा रोजगारीका लागि विदेश जान्छन् ।

महिला बढी विदेशिने जिल्लाहरुमा झापा, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट, नवलपरासी, रामेछाप, धादिङ, सिन्धुली, उदयपुर, कास्की रहेका छन् । विवाह नगरी विदेशिनु पर्ने अवस्था कतिपयको छ । विदेशको रोजगारीबाट धेरै परिवारको चुलो बलेको छ । धेरैका बाआमाले औषघि खान पाएका छन् ।

रेमिट्यान्स कति भित्रियो भनेर हिसाब राखिएको होला, तर बढ्दो सामाजिक लागतको हिसाव निकाल्न कठिन छ । विदेशमा घर धान्न खर्च जुटाउने दिदीबहिनीले बैंस मारेर बसेको तथ्याङ्क कसैसँग छैन होला ।

बाध्यतामा विदेशिएका महिलाको उमेर ढल्किदा पनि किन विहे हुँदैन ? यसको धेरै कारण मध्ये सामाजिक दृष्टिकोण पनि एक हो । नेपालबाट १८ देखि ३९ वर्षका युवा युवती विदेशिने गर्दछन । त्यो उमेरमा घरजम बेला हो । हाम्रो समाजमा जति पुरुषलाई विदेशबाट फर्केपछि घरजम र विहेवारी गर्न सजिलो छ । तर महिलाका लागि भने कठिन ।

एक पटक खाडीमा काम गरेर आएपछि महिलाहरु घरजम नगरी फेरि किन विदेश जान्छन ? उनीहरुलाई घरजाम गर्ने रहर हुँदैन ? त्यसको उत्तर खोज्ने हो भने सामाजिक हेराई नै प्रमुख कारण भेटिन्छ ।

खाडीबाट फर्केका महिलालाई हजारौं प्रश्न थोपर्ने समाजले पुरुषको चरित्र माथि प्रश्न उठाउँदैन्

जापान वा अमेरिकामा बस्ने नेपाली महिलाले सामाजिक सञ्जालमा फोटो र स्टाटस हाल्दा सकारात्मक कमेन्ट आउँछन् । तर त्यस्तै फोटो खाडीमा काम गर्ने महिलाले हालिन भने गाली गरिन्छ । उत्ताउली भनिन्छ । विदेशमा काम गरेर फर्केका पुरुषको चरित्र माथि कहिल्यै प्रश्न उठाइन्न । महिला माथि हजारौं प्रश्न ओइरिन्छ ।

तुलानात्मक रुपमा अन्य देशमा भन्दा खाडीमा धेरै समस्या छन । कति महिला दिदीबहिनी यौन शोषणमा पनि परेका छन । त्यसमा किन महिलालाई नै दोषी ठानिन्छ ? के पुरुष दाजुभाइ यौन र्दुव्यहारमा पर्दैन होला । त्यसको तथ्याङ्क कसैसँग छ ?

महिला मात्र ‘भर्जिन’ हुनुपर्ने, पुरुष चाहिँ नहुँदा हुने

खाडीमा गएर फर्केकी महिला माथि उसको चरित्रलाई दाँजेर हेर्ने समाजमा किन पुरुषको चरित्र माथि चाहिँ प्रश्न गर्न सक्दैन । यदि महिला विदेशमा अन्यसँग यौन सम्पर्क राख्न सक्छिन भने पुरुषले राख्दैनन् होला । महिला मात्र ‘भर्जिन’ हुनुपर्ने समाजमा पुरुषलाई चाहिँ किन किन छुट छ ।

आजसम्म विदेश गएर आएको पुरुषलाई छोरी सुम्पिदा उसले विदेशमा कतै अन्यसँग शारीरिक सम्बन्ध त राखेन भनेर सोच्नसम्म भ्याउँदैनन् । तर विदेश गएर फर्केकी महिला छन भने यत्रो वर्ष घर बाहिर बसेर आएकी कति जनासँग के के गरेर आइ भन्दै शंका गर्न भ्याइ हाल्छन् ।

विदेश जानु धेरैको रहर नभएर बाध्यता हो । दिनरात नभनी विदेशमा पसिना बगाउन पुगेकाले मोजमस्ती गर्न समय नै पाउँदैनन । दिनमा घण्टौं काम गर्ने नेपालीका रात निदाउन नपाउँदै उज्यालो हुन्छ । भोलिपल्ट दैनिकी दोहोरिन्छ ।

त्यसमा महिला दिदीबहिनीहरुलाई त झन कठिन छ । घरेलु कामदारको रुपमा साहुको बालबच्चा स्याहार्न पुगेका धेरैले निद्रा पुर्‍याएर सुत्न पाउँदैनन् । घरधन्दा नसकिँदै उज्यालो हुन्छ । बैंसलाई नियाल्न र कल्पनामा डुब्ने फुर्सद नै छैन कसरी मोज गर्दै हिड्नु ।

घर भन्दा पनि आग्लो आँगनको पर्खाल । अन्याय नै भएपनि कसैलाई गुहार माग्न सक्दैनन । घर बाहिर आफू खुसी निस्कनु भनेको मरुभूमीमा पानीको मुल फुटाउनु सरह हो । त्यतीका दुःख भोगेर घरजम गर्ने सपना बोकेर स्वदेश फिर्दा पनि खुसीको हाँसो हाँस्न पाएका छैनन महिलाहरुले ।

खाडीबाट फर्केका महिलाहरुलाई ४० कटेसी पनि रमाउने छुट छैन्

विदेशबाट फर्किंदा आँगन टेक्न नपाउँदै उसले लाएको पहिरन र बोलेको शब्दबाट टिकाटिप्पणी सुरु हुन्छ । त्यही आँगनमा जापान र अमेरिका गएर आएकी छोरीलाई गर्ने व्यवहार र खाडीबाट फर्केकी छिमेकीकी छोरीलाई हेर्ने हेराई फरक हुन्छ ।

विदेशमा रगतको आँशु रोएर फर्केका चेलीको उताको पिडा भन्दा स्वदेशको पिडा गहिरो रहेको छ । हेमन्त रानाले गाएको ‘सुन साईंली’ गीत हिजोआज सबैको मुखमा झुण्डिएको छ । तर यर्थाथमा अझै ४० वर्ष उमेर कटेका खाडीमा काम गर्ने दिदीबहिनीको रमाउने दिन आएका छैनन् ।

माया पिरती गाँस्ने र घरजम गर्ने साइत जुरेको छैन् । विदेशमा पाएको दुःख भन्दा पनि समाज र छिमेकीले गर्ने व्यवहार अनि चरित्रसँग जोडेर आउने प्रश्नबाट वाक्क भएर फेरि विदेशिने महिलाहरु धेरै छन ।

विदेशमा होस चाहे स्वदेशमा नै किन नहोस् ठूलो कुरा व्यक्तिको इमान्दारिता हो । स्वदेशमै पनि कुलतमा फसेका महिला पुरुष छन् । तर किन हरेक कुरा विदेशसँग नै दाँजेर हेरिन्छ ।

महिला पनि पुरुष सरह विदेश होस् वा स्वदेशमा, रोजगारीमा सहभागी हुनु भनेको त व्यक्ति र राज्यका लागि खुसीको कुरा हो ।

महिलाले कमाएको पैसाको हिसाब राख्ने राज्यले कहिले सामाजिक लागतको हिसाव राख्ला ?

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment