Saturday, May 6, 2017

अब प्रचण्डलाई नै महाअभियोग !

उनले आफूलाई नैतिकतान ठान्छन् भने राजीनामा दिन सक्नुपर्छ । नभए उनलाई ‘साइज’मा ल्याउने काम जनताको हातबाट हुनेछ । त्यो भनेको उनलाई नै महाअभियोग हो । जेठको पहिलोसाता सरकार छाडछु भनेर काँग्रेससँग तमसुक गरेका प्रचण्ड यसै पनि जनताको आँखामा गिरेका छन् ।

काठमाडौं । सर्वोच्च अदालतले महाअभियोग प्रस्तावपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन आदेश दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नैतिक दबाबमा छन् । सरकारले कार्कीमाथि लगाएको महाअभियोगविरुद्ध अधिवक्ता सुनीलरञ्जन सिंहले सर्वोच्च दायर गरेको रिटमाथि फैसला गर्दै सरकारको ल्याएको महाअभियोग प्रस्ताव उल्ट्याएको थियो । सरकारले कार्कीविरुद्ध गएको १७ गते महाअभियोग प्रस्ताव ल्याएका थिए ।

सर्वोच्चको फैसलासंगै प्रधानमन्त्री प्रचण्ड फेरि एकपटक नैतिक दवावमा परेका हुन् । आफैले ल्याएको प्रस्वाव सर्वोच्च अदालतले उल्टायो । यसअघि पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा सफल नभएपछि उनले त्यो बेला नैतिक रुपमा पदमा बस्न नसकिने भन्दै राजीनामा दिएका थिए ।

यसपटक पनि उनलाई त्यही प्रकृतिको समस्या झेलेका छन् । जसले गर्दा उनलाई पुनः नैतिक रुपमा दवाव परेको छ । आफैले कार्कीमाथि लगाएको महाअभियोग उल्टिएपछि पनि यसपटक उनी सरकारबाट बाहिरिन सकेका छैनन् ।

आफू सरकारमा हुँदा विवादास्पद काम गरेर नैतिक संकटमा पर्दै आएका प्रचण्डले यसपटक पनि किन राजीनामा दिन नसकेको ? प्रश्न उब्जिएको छ । महाअभियोग प्रस्ताव संसदबाट पारित हुन्छ कि हुँदैन भनेर एकिन नै नगरी हावा तालमा ल्याइएको हो ।

महाअभियोग त्यतिबेला मात्रै ल्याइन्छ, जतिबेला महाअभियोग पारित हुने सम्भावना हुन्छ । तर, अहिले ठूलो हिस्सा महाअभियोगको विपक्षमा छ । महाअभियोग प्रस्वाव ल्याउने नेपाली काँग्रेस र माओबादीका नेताहरुले नै महाअभियोगको विरुद्धमा बोलेका छन् । यो संख्या नेपाली काँग्रेसमा अझ बढी छ । महाअभियोग प्रस्तावका लागि गरिएका हस्ताक्षर पनि किर्ते भएको सार्वजनिक भएको छ । जसको विरोध नेताहरुले नै गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा, मधेशीबादी दल लगायत महाअभियोगको विपक्षमा उभिएका छन् । न्यायालयमाथि नै हस्तक्षेप भएपछि नेपाली जनतानै महाअभियोगको विपक्षमा उभिएका छन् । सरकारको कडा रुपमा आलोचना भइरहेको छ । यति ठूलो आलोचना भइरहँदा पनि प्रचण्डले कुर्सीमा बसिरहनु उनको नैतिकताले पनि पक्कै दिँदैन होला ।

किनभने महाअभियोग ल्याइसकेपछि त्यो परित भएन भने प्रस्ताव ल्याउनेहरूले आफ्नो हैसियत गुमाउनुपर्छ । त्यस्तै, अहिले प्रचण्डलाई भइरहेको छ । कानूनी बाध्यता नभए पनि यो गम्भीर नैतिकताको विषय हो । महाअभियोग पारित भयो भने जसमाथि महाअभियोग ल्याइएको हो, उसको हैसियत गुम्छ तर, यहाँ महाअभियोग पारित हुने कुनै आधार नै छैन ।

यसअघि पनि सर्वोच्चका प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको कुनै घटना छैन, जुन अहिले प्रचण्डले गरेर देखाएका छन् । जुन कुराले अहिले उनको व्यापक आलोचना भइरहेको छ । उनले न्यायालयमाथिनै ठाडै हस्तक्षेप गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाको पनि बलियो साथ छ । देउवा पनि अहिले जनताको आँखामा क्रुर शासकको रुपमा देखिएका छन् । उनी पद र पैसाका लागि जे पनि गर्न सक्छन् भन्ने कुरा उनको विगतलाई फर्केर हेरेमात्र पुग्छ ।

राज्यका तीन प्रमुख अंगमध्ये व्यवस्थापिका र कार्यपालिका आपसमा जोडिएका छन् । स्वतन्त्र भनेको न्यायपालिका मात्रै हो । त्यसको प्रमुखविरुद्ध महाअभियोग दर्ता गर्ने कामलाई प्रचण्डले हल्का रुपमा लिए ।

पारित हुन नसक्ने देख्दादेख्दै पनि प्रतिशोध साँध्नका लागि यो महाअभियोग दर्ता गरियो । तर, प्रचण्डको इच्छा विपरित सर्वोच्चले फैसला गरेपछि अहिले प्रचण्ड नैतिक रुपमा दवावमा पर्नु स्वभाविक हो । यदि उनले आफूलाई नैतिकतान ठान्छन् भने यसअघि जस्तै राजीनामा दिन सक्नुपर्छ । नभए उनले नैतिकतानै गुमाएको ठान्नुपर्छ । त्यसो भएको खण्डमा उनलाई ‘साइज’मा ल्याउने काम जनताको हातबाट हुनेछ । त्यो भनेको उनलाई नै महाअभियोग हो । जेठको पहिलोसाता सरकार छाडछु भनेर काँग्रेससँग तमसुक गरेका प्रचण्ड यसै पनि जनताको आँखामा गिरेका छन् ।

Source : Dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment