Tuesday, May 23, 2017

एमालेको प्रश्न-जनकपुर र बुटवल किन महानगर भएनन् ? ‘हिजो हामीले बिराटनगर, जनकपुर, वीरगन्ज र बुटववललाई महानगरपालिका बनाउँ भन्दा नमान्ने कांग्रेस होइन ?

९ जेठ,काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मनोनयन मिति तोकिएको अवस्थामा स्थानीय तहको संख्या बढाउँदा दोस्रो चरणको चुनाव नै हुन नसक्ने भन्दै स्वीकार्य नहुने जनाएको छ ।
साथै उसले वीरगन्ज र विराटनगरलाई महानगर बनाउँदा जनकपुर र बुटवललाई किन छुटाइएको भनेर प्रश्न समेत उठाएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले चुनाव जित्न अनुकुल स्थानीय तह बनाउने गरी एमालेले जित्ने ठाउँलाई फेरबदल गर्नका लागि मात्रै संख्या बढाएको आरोप लगाए । राष्ट्रिय जनता पार्टी नेपाललाई देखाइए पनि सत्तापक्षले आफ्नो चुनावी प्रयोजन पूरा गर्न खोजेको बताए ।

ओलीले भने, ‘हिजो हामीले बिराटनगर, जनकपुर, वीरगन्ज र बुटववललाई महानगरपालिका बनाउँ भन्दा नमान्ने कांग्रेस होइन ? अहिले हामीले उम्मेदवार तय गरेर चुनावमा लागिसकेको अवस्थामा गाउँपालिका नै गायव गरिएको छ । यो कुरा मान्य छैन ।’

तपाईहरुको बिरोध जानकारीका लागि मात्रै हो कि अरु केही गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा ओलीले एउटा दृष्टान्त सुनाए ।

उनको संकेत सरकारले मानेन भने कडा रुपमा प्रस्तुत हुने खालको थियो । ओलीले भने, ‘हलो जोत्ने मान्छेले हातमा लठ्ठी बोक्छ, किताब बोक्दैन । किनकी किताब देखाएर गोरुले टेर्दैन । अहिले हामीले किताब देखाएका छौं । अरु कुरा मैले भन्नु पर्दैन ।’

ओलीले राष्ट्रिय जनता पार्टी र मधेशी मोर्चालाई पनि लचिलो भएर चुनावमा आउन आग्रह गरे । उनले भने-धेरै पार्टी मिलेर राजपा बनेको छ । यो राम्रो कुरा हो । अब उहाँहरुले नाममा राष्ट्रिय राखे जस्तै व्यवहारमा पनि राष्ट्रिय चरित्र देखाउनुहोस् । चुनावबाट एजेण्डा स्थापित गरौं ।’

साभार :- अनलाईन खबर

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment