Sunday, April 23, 2017

हुन्डाइको एउटै कार बेच्दा बिक्रेताले १० लाख कुम्ल्याउँछन्, पढ्नुहोस् कुन कारमा कति छ लुटको रेट !

नेपालमा कार चढ्न आर्थिक हैसियत बलियो हुनैपर्छ । सामान्य मानिसका लागि कार सपना पनि हुन सक्छ । जसको आर्थिक हैसियत बलियो हुन्छ, उसले कार खरिद गर्न त सक्छ तर बिक्रेताबाट नराम्ररी ठगिनु नियती बनिदिन्छ ।

बिक्रेताहरुको मिठो बोलिचालीमै विश्वास गरेर धेरै उपभोक्ताहरु चर्को मूल्य तिरेर कार खरिद गर्छन् । ‘मेरो कार यति लाखको, उति लाखको’ भन्दा समाजमा फूर्ति वा शान बढ्ने विश्वासमा पनि मानिसहरु कारमा लाखौं खन्याउँछन् ।

कार खरिद गर्न सक्ने हैसियत भएका उपभोक्ताले एउटा कुरा कहिले पनि ख्याल गर्न सकेका छ्रैनन् कि वास्तवमा उनीहरुले एउटा कार खरिद गर्दा बिक्रेतालाई नाफा बापत कति लाखा अनाहकमा बुझाइरहेका छन् त ?

यो मामिलामा सबैभन्दा ठूलो लुटको धन्दा चलाउने व्यापारिक संस्था हो लक्ष्मी इन्टरकन्टिनेन्टर प्राली । नक्सालमा कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले दक्षिण कोरियाको हुन्डाई कार बिक्री गर्छ । हुन्डाईको पेट्रोलबाट चल्ने ‘ग्रान्ड माज्ना’ कार नेपाल भित्र्याउँदा करसहितको दाम कति हो तपाईलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । लक्ष्मी इन्टरकन्टिनेन्टलले १६ लाख ६९ हजारमा करसहित आयात गरेर २६ लाख ५६ हजारमा बिक्री गर्छ । अब आफै बिचार गर्नुहोस् एउटा कारमा तपाईले बिक्रेतालाई कति लाख नाफा बुझाइरहनु भएको रहेछ ?

हो, लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै १० लाख रुपैयाँ नाफा राखेर बेच्छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड पनि हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । यदि यसलाई प्रतिशतमा हिसाब गर्ने हो भने एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिन्छ ।

हामीले यो तथ्यांक तराइको एक भन्सार कार्यालयबाट लिएका हौं । भन्सार छुट्ने बेलामा ग्रान्ड माज्ना कारको मूल्य १६ लाख ६९ हजार ६ सय ७० रहेको कागजात प्राप्त भएको छ । यसको सिधा अर्थ यो हो कि यहि मूल्यमा २० प्रतिशतसम्म नाफा राखेर बेच्ने अधिकार बिक्रेतालाई हुन्छ । किनभने यहि मूल्य नै कारको खरिद मूल्य हो ।

तर २० प्रतिशत कस्ले मान्छ ? नमाने पनि कसले कारबाही गर्छ ? कारबाही गर्ने निकायलाई अगाडि नै सेटिङ मिलाएपछि यस्ता व्यापारी भएठाउँ सरकारी अनुगमनको टोली पनि पुग्दैन । कतिपय उपभोक्तावादी संगठनहरुलाई यतातिर हेर्ने फुर्सद पनि छैन । आर्थिक हैसियत बलियो भएका उपभोक्ताबाट लुट्ने व्यवसाय भएका कारण यसलाई जनजीवीकाको सवालसँग जोडेर हेरिँदैन । जसका कारण उच्च मध्यम वर्ग लुटको सिकार बनिरहेको छ ।

हुन्डाइका कुनै एक मोडलका मात्रै यस्तो लुट होइन । हामीलाई प्राप्त भएको २० वटा मोडलमा नै यस्तो लुट देखिन्छ । तर टक्सन जिएलएस एटी हाइ ट्रिम, टक्सन जिएलएस एटी लो ट्रिम र टक्सन जिएलएस एमटी लो ट्रिममा भने लक्ष्मीले उपभोक्ता ठगेको छैन । यी गाडीहरुमा क्रमश २१, २० र ७ प्रतिशत नाफा राखेको देखिन्छ ।

कुन कारमा कति लुट मच्चाइएको छ यो तालिकाले पनि प्रष्ट पार्छ ।

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले समान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट पारेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुशार सामान्यत सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

ऐनले डिलर, एजेन्टलाइ मुनासिब कमिसन दिन रोकेको छैन । तर यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुको मूल्य स्वतः डेढ गुणाभन्दा महंगो पर्न जान्छ ।

उपभोक्ता हिन संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकत् २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’

हुन्डाइका कारमा भेटिएका यस्ता लुटका विषयमा लक्ष्मी इन्टरकन्टिनेन्टलका मालिक निराकार श्रेष्ठसँग सम्पर्क हुन सकेन ।

लक्ष्मीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिस ओझाले भने, ‘कारको मूल्य कसरी निर्धारण गरिएको हुन्छ, त्यस्तो कुरा हामीलाई थाहा हुँदैन । तर पनि मलाई थाहा भएअनुशार कारको मूल्यमा बाहिर नदेखिने किशिमका खर्च पनि जोडिन्छन् । जस्तो कि ढुवानी, भन्सार गोदाम शुल्क, पैठारीका क्रममा हुने ड्यामेज आदि ।’

ओझाले गैरकानुनी नाफाबारे कुनै धारणा राखेनन् । एजेन्सीको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment