Sunday, May 28, 2017

नचिनेका मानिसले हत्या गरे, आरोप लाग्यो नेपाली चेली भीमकुमारीलाई

परिवारले सानै उमेरमा भीमकुमारी लिम्बूलाई डोली चढाइ दिए । ३० वर्ष नपुग्दै दुई छोरी एक छोरा जन्मिए । जेठी छोरी १३, कान्छी आठ वर्ष र छोरा चार वर्षका भए । हो यिनै सन्तानका शिक्षादिक्षा र पालनपोषणका लागि भन्दै धनकुटाको डाडाबजार ४ की भीमकुमारी दुई वर्ष अघि युएई आउनु भएको थियो ।

स्थानीय नागरिकको घरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी भीमकुमारी दुई महिना दुवईको जेल र १० महिना नेपाली दूतावासको सेल्टरमा बसेर यसै हप्ता नेपाल फर्कनु भयो ।

उहाँले राम्रैसँग घरमा काम गर्दै आउनु भएको थियो । काम गर्ने घरमा रहेकी वृद्धा र बच्चा हेर्ने जिम्मा थियो भीमकुमारीको । उहाँले आफूले पाएको जिम्मेवारी पूरा गर्दै आउनु भएको थियो । तर सोचे जस्तो भएन । उहाँले पराइ देशमा जेल बस्नुपर्‍यो ।

एक वर्ष पहिले अरुलाई बचाउन खोज्दा उहाँ आफैं जेल जानु पर्ने भयो । त्यो दिन उहाँले घरमा मालिकको सानो बच्चा र परिवारलाई हेरविचार गर्दै हुनुहुन्थ्यो । त्यस घरमा अर्की महिला कामदार पनि थिइन् ।

उनीहरुको बन्द कोठाको ढोका कसैले ढक्ढक्यायो । भीमकुमारीले ढोका खोली दिनुभयो । मुख छोपेर कालो नकाव लगाएका नचिनेको मान्छेले सुरुमा हातमा छोपेको चक्कु मालिकको बच्चा माथि प्रहार गर्न खोज्दै थियो ।

ती मानिसले हानेको चक्कु लागेर एक जनाको मृत्यु भयो । भीमकुमारी घाइते हुनुभयो । पछि प्रहरी आयो । प्रहरीले भीमकुमारीलाई पक्राउ गर्‍यो । उहाँलाई हत्या गर्न सहयोग गरेको आरोप लाग्यो । ढोका खोलिदिएर हत्यामा सघाएको आरोप उहाँलाई लागेको थियो ।

अनुसन्धानका लागि भन्दै उहाँलाई दुई महिना भन्दा धेरै समय जेलमै राखियो । सन् २०१६ जुलाई २१ मा दूतावासकी श्रम सहचारी हिरा कुमारी यादवले भीम कुमारीलाई भेट्नुभयो ।

जेलमा राख्नु भन्दा दूतावासको सेल्टरमा राखे सहयोग हुने भन्दै यादवले यहाँको स्थानिय निकायका प्रतिनिधिहरुसँग प्रस्ताव राख्नुभयो । त्यसपछि अनुसन्धानका लागि सहयोग गर्ने सर्तमा भीम कुमारीलाई यादवले दूतावासको सेल्टरमा ल्याउनुभयो ।

दूतावासमा बसुन्जेल सेल्टरमा आउने सबैले उहाँलाई भेट्थे । भेटेका सबैले उहाँको कथा सुनेर जिब्रो टोक्थे ।

दूतावासले उहाँको समस्याबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । ‘अनुसन्धानकै लागि राखिए पनि उहाँ पीडित भएकाले क्षतिपूर्ति माग गरेका छौं’ दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले भन्नुभयो । गएको हप्ता उहाँविदरुद्धको मद्धाको फैसला भयो । उहाँलाई त्यतिबेला लाग्यो नखाएको बिष लाग्दैन ।

घर फर्किन पाए पनि उहाँसँग हवाइ टिकट थिएन । मुद्दाको फैसला भएपछि उहाँलाई अर्को चिन्ता थपियो ‘टिकटको जोहो कसरी गर्ने ?’ यही चिन्ताले सताइरहेका बेला गायक प्रकाश पौडेलले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तर त्यही दिन बेलुका भीम कुमारीले काम गर्ने घर मालिक एकतर्फी हवाइ टिकट लिएर दूतावास आए । उनको क्षतिपूर्तिबारे मालिकले तत्काल केही गर्न नसक्ने बताए । मालिकले एक महिनाको ५ सय दिर्हाम दिए । र बाँकी हरेक महिनाको मासिक तलब उहाँको परिवारको खातामा जम्मा गरिदिने मालिकले बताएका छन् ।

गायक पौडेल लगायत उहाँका साथीहरु मिलेर केही लत्ताकपडा र चकलेट किनेर पठाए । नेपाल गएर फोन सम्पर्क गर्नुहोला भनेको सम्झिदै पौडेलले भन्नुभयो ‘काठमाडौंबाट फोन आयो, दाइ म नेपाल पुगें ।’ त्यो फोन भीम कुमारीको थियो ।

उज्यालोअनलाइनबाट

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment