Sunday, May 14, 2017

संसदमा विशेष सम्बोधन गरेर ‘प्रचण्ड’ले राजीनामा दिने

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसैसाता आफूले पदबाट राजीनामा दिने बताएका छन् ।

मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूसँग सोमबार बिहान बालुवाटारमा भएको भेटवार्टामा ‘प्रचण्ड’ले राजीनामा दिने तयारीमा आफू पुगेको बताएका हुन् ।

भेटवार्तामा सहभागी राजपाका नेता राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले यसैसाताभित्र संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने उल्लेख गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले यसै हप्ता संसदमा विशेष सम्बोधन गरेर राजीनामा दिने मनस्थिति बनाएको बताउनुभयो’, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै नेता यादवले भने, ‘त्यसअघि संविधान संशोधन पारित गराउने विषयमा प्रतिवद्धता जनाउनु भएको छ ।’

कांग्रेससँगको सहमति अनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिएर शेरबहादुर देउवालाई नेतृत्व सुम्पने जनाइएको छ ।

भेटवार्तामा राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलताका साथ सम्पन्न गरेकोमा प्रधानमन्त्री दाहाललाई बधाइ दिएका थिए । उनीहरूले दोसो चरणको चुनावका लागि वातावरण बनाउन र संविधान संशोधनका लागि आग्रह गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले संसदमा संविधान संशोधनका लागि संख्या रहको भए पनि राप्रपाले के गर्छ भन्नेमा आफूले सो पार्टीसँग जान्न चाहेको पनि बताएका थिए । ‘संविधान संशोधनमा राप्रपाले नीतिगत रुपमा सहमति जनाएको छ’, प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै राजपाका नेता यादवले भने, ‘प्रधानमन्त्रीज्यूले सो विषयमा राप्रपासँग पनि परामर्श गर्ने बताउनु भएको छ ।’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment