Monday, May 29, 2017

दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ७ कि १० गते भन्नेमा विवाद

काठमाडौं, १५ जेठ । मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सामेल हुने भएपछि जेठ ३१ गते निर्वाचन नहुने निश्चित जस्तै भएको छ । तर, असारमा कृषकहरू खेतबारीमा व्यस्त हुने भएकाले कति दिन निर्वाचनको मिति सार्नेन भन्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अन्योलमा परेका छन् ।

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले एक साता निर्वाचनको मिति सार्नुुपर्ने प्रस्ताव गरेका थिए । तर, राजपाले कति दिन सार्ने भन्ने विषयमा कुनै निर्णय नदिएपछि दोस्रो चरणको निर्वाचनको मिति अन्योलमा परेको छ । सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि निर्वाचन आयोगले त्यसलाई औपचारिकता दिने व्यवस्था छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असार १० गते निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सो समय तराई मधेसमा रोपाईको मध्यसिजन भएकाले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले कुनै निर्णय गरेका छैनन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असार ७ गते निर्वाचन गर्न सकिने बताएका छन् । तर, मधेस केन्द्रित दल अझै स्पष्ट भइनसकेकाले अन्योल रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड सोमबार गणतन्त्र दिवसको कार्यक्रम, मन्त्रिपरिषद् बैठक र अपराह्न संसदमा बजेट प्रस्तुत हुने भएकाले निकै व्यस्त छन् । जसले गर्दा आज उनले निर्वाचनको मिति सार्न कानुनविद् र मौसमविद्सँग छलफल गर्ने भनिए पनि नहुने भएको छ । आइतबार सम्पन्न चारदलीय बैठक सोमबार पुनः बैठकमा बस्ने गरी टुंगिएको थियो । तर, अहिलेसम्म चारदलीय बैठकको बस्ने कि नबस्ने टुंगो लागिसकेको छैन ।

जेठ ३१ गते मुस्लिम समुदायको रमजान पर्व मध्यतिर पर्ने भएकाले पनि सो दिनको निर्वाचन सार्नुपर्ने भन्दै सरकारलाई एमालेलगायतका दलबाट दबाब बढ्दै आएको थियो । तर, सो दिनको मिति सार्दा निर्वाचन नै अनिश्चित हुने हो कि भन्ने सन्देह उत्पन्न भएको छ । तर, पनि कांग्रेस–माओवादी केन्द्रका नेताहरूले असार ७ या १० गतेभित्र जुनसुकै दिन पनि निर्वाचन गर्नुपर्ने सहमति गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment