Friday, May 26, 2017

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

काठमाडौँ, १२ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०÷८० जनाले ज्यान गुमाउने गरेका छन्, यसलाई रोक्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।”

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर कारबाही गर्न लागेको जनाएको छ । ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रुले बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलनै प्रयोग गर्नुपर्छ । जथाभावी बाटो काट्नेलाई रु २०० देखि रु एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्था बमोजिम कारबाही गर्न लागेको प्रमुख लामाले बताउनुभयो ।

पैदलयात्राको क्रममा साथमा रु दुई सय पनि नभएका यात्रुलाई तीन घन्टासम्म नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ ।

महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाई समेत कारबाही गर्दैआएको छ । गत चैत २८ गतेदेखि आजसम्म सात हजार ४६९ व्यक्ति कारबाहीमा परेका महाशाखाले जनाएको छ । रासस

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment